मलेखु, धादिङ — धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानी क्षेत्रमा पहिरो खसेपछि पृथ्वीराजमार्गमा दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। आज (बिहीबार) बिहान करिब १० बजेदेखि लगातार पहिरो खस्न थालेको हो।
सडकमा ठूलो मात्रामा माटो र ढुंगा खस्दा सयौं गाडी बाटोमै रोकिएका छन्। दसैँमा घर फर्किने यात्रुको चाप बढिरहेका बेला राजमार्ग बन्द हुँदा हजारौं यात्रु र सवारी साधन बीच बाटोमै रोकिएका छन्।
हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पहिरो पन्छाउने कार्य तीव्र रूपमा जारी छ। ट्राफिक प्रहरी निरीक्षक सुरज श्रेष्ठले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएका छन्।
त्यस्तै, जोखिम न्यूनिकरणका लागि रोकिएका सवारी साधनलाई सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मीहरू परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए।
यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै, नजिकका अन्य क्षेत्रहरूमा पनि पहिरोको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
यसअघि पनि यही क्षेत्र (जवाङखोला) मा सोमबार राति सुक्खा पहिरो खस्दा १७ घण्टासम्म राजमार्ग पूर्ण अवरुद्ध भएको थियो। बुधबार बेलुका खसेको अर्को पहिरो आज बिहान मात्रै हटाइएको थियो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्