काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको निजी क्षेत्रका प्रमुख संघ–संस्थाहरूले बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, र नेपाल चेम्बर अफ कमर्सले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गरेका हुन्।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभरबाट संकलित प्रारम्भिक विवरणअनुसार करिब ८० अर्ब रुपैयाँको क्षति भएको जानकारी दिए। उनले अझै केही ठूलो उद्योग र साना व्यवसायको विवरण आउन बाँकी रहेको पनि बताए।
निजी क्षेत्रका संघ–संस्थाहरूले देशव्यापी सर्वेक्षणमार्फत यथाशीघ्र सम्पूर्ण क्षति विवरण संकलन गरी सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
छलफलका क्रममा व्यवसायीहरूले आन्दोलनबाट प्रभावित उद्योगी–व्यवसायीलाई राहतका लागि कर्जा पुनर्संरचना, कर्जातालिकीकरण, सहुलियतपूर्ण कर्जा, भन्सार तथा कर छुट, र चालु पुँजी कर्जा मार्गदर्शन स्थगनलगायतका आर्थिक सहुलियतको माग राखे।
महासङ्घ र अन्तर्राष्ट्रिय वित्त निगमको अध्ययनअनुसार नेपालको कुल अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको छ भने कुल रोजगारीको ८६ प्रतिशत हिस्सा पनि निजी क्षेत्रले नै पुर्याइरहेको छ।
निजी क्षेत्रले अर्थतन्त्रको पुनर्निर्माण, सुरक्षा, र लगानी प्रवर्द्धनका लागि सरकारसँग सहकार्यको आवश्यकता औँल्याएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्