५४ अंकले नेप्से वृद्धि हुँदा साढे ७ अर्बको कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २०

कोभिड–१९ को संक्रमण कम गर्न सरकारले गरेको निषेधाज्ञाले सेयर बजारमा भने खासै असर गरेको छैन। अनलाइनमार्फत घरबाटै सेयर कारोबार गर्न सकिने सुविधाले गर्दा बजारमा सामान्य अवस्थाकै तुलनामा कारोबार भइरहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.०७ प्रतिशतले वृद्धि हुँदा बजारमा करिब साढे सात अर्ब बराबरको सेयर कारोबार भएको छ । आइतबार नेप्से ५४ अंकले वृद्धि भई २६६५.१० अंकमा पुग्नुका साथै यस दिन २२६ कम्पनीका १ करोड ५८ लाख ३२ हजार सेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत वर्ष लकडाउनको अवधिमा सेयर बजार बन्द गरिएता पनि यस पटक भने लगानीकर्ताहरूले अनलाइन सेयर खरिद बिक्री र भुक्तानी गर्न सकिने गरी अनलाइन कारोबारको व्यवस्था गरिएको छ ।


आइतबार बजारमा नेप्सेसँगै समूहगत परिसूचकहरू पनि उकालो लागेका छन् । यस दिन बैंकिङ १९.९१, व्यापार ७९.२८, होटल्स एण्ड टुरिजम १११.१७, विकास बैंक ३८.२४, जलविद्युत् ३७.८५, फाइनान्स १६.०७ अंकले बढेको छ ।

यसैगरी निर्जीवन बिमा ४४८.७८, उत्पादन १५०.७२, अन्य ९४.८६, लघुवित्त १०४.५९, जीवन बिमा ६३२.१८, म्युचुअल फण्ड ०.०४ र लगानी समूह ०.७५ अंकले बढेको छ ।आइतबार विशाल बजार कम्पनी, महिला लघुवित्त वित्तीय संस्था, सिंगटी हाइड्रो, सानिमा जनरल इस्योरेन्स र सिनर्जी पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यसैगरी एभरेष्ट बैंक, सनराइज म्युचुअल फण्ड, एनआईबिएल समृृद्धि फण्ड, नेपाल हाइड्रो र नारायणी विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *