काठमाण्डौँ । पत्रकारिताको यात्रामा लागेको लामो समयपछि कतै न कतै मनमा प्रश्न उठ्न थाल्छ — के म साँच्चै पत्रकार हुँरु जब लेख्नुपर्ने विषयहरू छनोट गर्दा मेरो कलम स्वतः एउटै धार, एउटै सोच, र एउटै समूहको पक्षमा झुक्दछ, तब म झस्किन्छु। मलाई लाग्छ, म त पत्रकार हैन, कार्यकर्ता पो रहेछु ।
पत्रकारिताको मूल आत्मा निष्पक्षता हो । सत्य के हो भन्ने जान्ने, खोज्ने, र जनतासमक्ष ल्याउने पत्रकारको धर्म हो । तर जब म समाचार लेख्दा, रिपोर्ट तयार गर्दा, वा टिप्पणी लेख्दा मेरो विचारले सत्यलाई ओझेलमा पार्छ, तब त्यो पत्रकारिता होइन — त्यो अभियान हो । एउटा सोच, विचारधारा, वा संगठनको पक्षमा झुकेर लेख्नु कार्यकर्ताको काम हो, पत्रकारको होइन ।
अझ सामाजिक सञ्जालमा झन् यो प्रवृत्ति तीव्र देखिन्छ। पत्रकारहरूले फेसबुक, ट्विटर, वा युट्युबजस्ता माध्यममा आफ्ना निजी विचारलाई समाचारजस्तो ढाँचा दिँदै प्रचार गर्छन्। कहिले काँही ती विचारले यति प्रबलता पाउँछ कि पाठकलाई त्यो खबर होइन, घोषणापत्र जस्तो लाग्छ। यस्तो अवस्थामा फेरि म आफैँलाई सोध्छु — के म स्वतन्त्र छु ? कि म कसैको एजेन्डाु बोकेर हिँडेको छु ?
कतिपय पत्रकारहरू आफूले समर्थन गर्ने दल, विचार वा नेताको बचाउ गर्न समाचारको स्वरूप परिवर्तन गर्छन् । आलोचना गर्दा पनि त्यसको उद्देश्य सूचना दिन होइन, प्रतिशोध लिने देखिन्छ । यस्तो अवस्थामा पत्रकारिताको मर्म गुम्छ । पत्रकारिता खबर दिनु हो, विचार थोपर्नु होइन ।
हो, म नागरिक पनि हुँ । मेरो व्यक्तिगत धारणा, विचार वा समर्थन हुन सक्छ। तर जब म त्यो समर्थन मेरो पत्रकारिताको काममा मिसाउँछु, तब म स्वतः कार्यकर्ताको भूमिकामा पुग्छु । यो विभाजन बुझ्न जरुरी छ। पत्रकारिता र कार्यकर्तावादबीचको सीमा नदेखिने भए पनि अत्यन्त संवेदनशील हुन्छ। त्यो रेखा म काट्दाको परिणाम समाज, पाठक र सत्य सबैका लागि घातक हुन्छ ।
तर दोष पूर्णरूपमा व्यक्तिमा मात्र सीमित छैन । हाम्रो मिडिया संरचना नै कतै न कतै ध्रुवीकृत छ। मालिकको विचार, विज्ञापनदाताको दबाब, वा बजारको प्रतिस्पर्धाले पत्रकारलाई स्वतन्त्र ढंगले काम गर्न दिन्न। जब स्वार्थको चश्माबाट समाचार हेर्न थालिन्छ, तब पत्रकारिता आफैँ बिरामी हुन्छ ।
अब प्रश्न उठ्छ, समाधान के हो ? आत्मसमीक्षा नै पहिलो कदम हो। पत्रकारले आफैँसँग इमानदार हुन जरुरी छ — के म सत्य खोज्दैछु, वा सत्यलाई मेरो विचारमा फिट गराउँदैछु ? यदि उत्तर दोस्रो हो भने, हामीले स्वीकार गर्नुपर्छ — हामी पत्रकार हैनौं, कार्यकर्ता पो हौँ ।
निष्कर्षमा, पत्रकारिता जिम्मेवारी हो — सत्यप्रति, जनप्रति र आफ्नो पेशाप्रति । जब म त्यो जिम्मेवारीलाई विचारधाराको चस्माबाट हेर्छु, तब म पत्रकार होइन, कार्यकर्ता बन्छु। समय आएको छ आत्मसमीक्षा गर्ने, कलमलाई पुनः निष्पक्ष बनाउने र पत्रकारितालाई पत्रकारिताको बाटोमा फर्काउने ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्