खजुरा : जिल्ला प्रहरी कार्यालय बाँकेले प्राचीन बुद्धको मूर्तिसहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ ।
बाँके प्रहरीले राप्तीसोनारी गाउँपालिका वडा नं. ८ ढकेरी शम्सेरगन्जस्थित सडक खण्डबाट मङ्गलबार दिउँसो बुद्धको मूर्तिसहित उक्त कार्यमा संलग्न तिलोत्तमा नगरपालिका वडा नं. ११ रुपन्देहीका ५० वर्षीय खिमबहादुर कुवर, सोही ठेगानाका ५० वर्षीय रामु न्यौपाने र घोराही उपमहानगरपालिका वडा नं. १५ का दाङका ५८ वर्षीय निमबहादुर कुवरलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरूको साथबाट ८ इन्च लम्बाई भएको कटर एक थान, ८ इन्च लम्बाई भएको पिलास एक थान, ८ इन्च लम्बाई भएको फलामको रेति एक थान र खिमबहादुर कुवरको साथमा रहेको भारतीय सिम कार्ड एक थानसमेत बरामद गरेको बाँके प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्ति र बरामद गरिएको प्राचीन बुद्धको मूर्तिका बारेमा थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बुद्धको मूर्तिसहित उक्त कार्यमा संलग्न तीन जनालाई मङ्गलबार पक्राउ गरी बुधवार अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनले खिमबहादुर कुवरले पछाडि बोकेको खैरो रङको झोला खोली हेर्दा ओम नमः शिवाया: लेखिएको तुल (रुमाल)मा बेरी लुकाई राखिएको अवस्थामा पिँधको गोलाई १ फिट ६ इन्च, पिँध देखि शिरको टुप्पो सम्मको उचाइ ९ इन्च रहेको ८ किलो ६८० ग्राम तौल भएको पहेँलो रङको धातुमा अधिकांश भागमा कालो रङको पालिस लगाएको जस्तो देखिने पहेँलो रङको धातुको बुद्धको मूर्ति बरामद गरिएको बताए ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्