पोखरामा ट्रान्स पार्टीमा प्रहरी छापा : ३८ जना पक्राउ, १२ विरुद्ध मुद्दा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १७

काठमाण्डौँ । पर्यटकीय नगरी पोखराको फेवातालमाथि अवस्थित सेदी क्षेत्रको जंगल नजिकै एक पुरानो घरमा सोमबार राति आयोजित अवैध ‘ट्रान्स पार्टी’ मा प्रहरीले छापा मार्दा ३८ जना पक्राउ परेका छन् ।

रात गहिरिँदै जाँदा जंगल क्षेत्रमा बत्ती र चर्को संगीतसँगै युवायुवतीको जमघट बढ्दै गएको थियो । उक्त कार्यक्रममा मादक पदार्थ र विभिन्न प्रकारका लागुऔषधको खुलेआम प्रयोग भइरहेको प्रहरीले जनाएको छ। कार्यक्रममा नेपालसहित भारत, ब्राजिललगायत विभिन्न देशका नागरिकको सहभागिता रहेको थियो ।

प्रहरीका अनुसार कम्तीमा ७२ घण्टा सञ्चालन गर्ने तयारीसहित गोप्य रूपमा आयोजना गरिएको उक्त ट्रान्स पार्टीको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम र लागुऔषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोली राति करिब १ : ३० बजे घटनास्थल पुगेको थियो ।

प्रहरी पुग्दा सहभागीहरू लागुऔषधको प्रभावमा रमाइरहेका थिए । घटनास्थलबाट एमडीएमए, चरेस, कोकिनजस्तो देखिने सेतो धुलो, हेरोइनजस्तो पदार्थ, ‘आइस’, गाँजा, म्याजिक मसरुम तथा एलएसडी (तरल र कागज स्वरूपमा) बरामद गरिएको प्रहरीले जनाएको छ।

छापामारीका क्रममा केहीबेर प्रहरी र सहभागीबीच विवादसमेत भएको थियो ।

पक्राउ परेका ३८ जनामध्ये १२ जनाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा चलाउने तयारी गरिएको छ भने बाँकी २६ जनालाई सामान्य सोधपुछपछि रिहा गरिएको छ । मुद्दा चलाइएकामध्ये नेपाली र विदेशी नागरिक दुवै रहेका छन् ।

प्रहरीका अनुसार पोखरामा यसअघि पनि लुकीछिपी यस्ता ट्रान्स पार्टीहरू हुने गरेको भए पनि यति ठूलो संख्यामा सहभागी पक्राउ परेको घटना पछिल्ला वर्षहरूमा दुर्लभ मानिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *