काठमाण्डौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र प्रयोग गर्ने सातजनालाई पक्राउ गरी कारबाही अघि बढाएको हो ।
तनहुँको म्याग्दे गाउँपालिका–७ घर भएका १९ वर्षीय किरण सिंह ठकुरीले डिभी प्रयोजनका लागि काठमाडौँस्थित अमेरिकी दूतावासमा कक्षा १२ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । दूतावासले उक्त प्रमाणपत्र प्रमाणीकरणका लागि राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा पठाउँदा उक्त कागजात नक्कली भएको पुष्टि भएको थियो । बोर्डबाट प्रमाणपत्र नक्कली भएको जानकारी आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले नक्कली प्रमाणपत्र प्रयोग गर्ने ठकुरीसहित उक्त प्रमाणपत्र बनाइदिने अन्य व्यक्तिहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले माघ १५ र १६ गते गरी यो धन्दामा संलग्न सातजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मुख्य आरोपी किरण सिंह ठकुरीसहित पर्वत फलेवासका ४० वर्षीय अनिल शर्मा, काठमाडौँ तारकेश्वरका ३४ वर्षीय लक्ष्मण बस्नेत र नुवाकोट ककनीका ४२ वर्षीय केशव फुयाँल छन् । त्यस्तै नुवाकोट तादीका ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौँ महानगरपालिका–२ की ४३ वर्षीया दीपा लावती र गुल्मीका ५२ वर्षीय शोभाखर खनाल पनि पक्राउ परेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्