काठमाडौं । नेपालबाट CAVA क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने तयारीमा रहेको रुकुम पश्चिम भलिबल क्लबलाई अमेरिकामा बस्दै आएका समाजसेवी मनराज देवकोटाले ठूलो सहयोग घोषणा गरेका छन्।
देवकोटाले CAVA क्लब च्याम्पियनसिप खेल्न रुकुम पश्चिमलाई २८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको क्लबका अध्यक्ष तेज बुढाले जानकारी दिए। यसअघि पनि उनले क्लबलाई एनभीए च्याम्पियनसिपका लागि २ लाख रुपैयाँ सहयोग गरेका थिए।
घरेलु भलिबलमा रुकुम पश्चिमले हासिल गरेको सफलतापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएको क्लबलाई आर्थिक रूपमा बलियो बनाउन देवकोटाको सहयोग महत्वपूर्ण हुने अध्यक्ष बुढाले बताए।
रुकुम पश्चिमले हालै एनभीए क्लब च्याम्पियनसिपमा परिचित टोली टिपटप हेल्प नेपाललाई पछि पार्दै उपाधि जितेको थियो। यही सफलतापछि क्लबले CAVA क्लब च्याम्पियनसिप खेल्ने अवसर पाएको हो।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रुकुम पश्चिमले खेलाडी छनोटको कामसमेत पूरा गरिसकेको छ। क्लबले नेपाली खेलाडीसँगै भारतका चर्चित खेलाडीलाई समेत टोलीमा समावेश गर्ने तयारी गरेको छ।
यसअघि एनभीए च्याम्पियनसिपमा रुकुम पश्चिमले पाकिस्तानी खेलाडीलाई टोलीमा समावेश गरेको थियो। तर CAVA क्लब च्याम्पियनसिपमा भने भारतीय खेलाडीलाई अनुबन्ध गर्ने क्लबको तयारी छ। बलियो टोली निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा राम्रो प्रदर्शन गर्ने लक्ष्य क्लबले राखेको छ।
यद्यपि प्रतियोगितामा सहभागिताका लागि आवश्यक सम्पूर्ण रकम भने अझै जुटिसकेको छैन। CAVA च्याम्पियनसिपका लागि आवश्यक आर्थिक स्रोत जुटाउन क्लबले प्रदेश तथा विभिन्न क्षेत्रका व्यक्ति, शुभेच्छुक र सहयोगदातासँग सहयोग संकलन गरिरहेको अध्यक्ष बुढाले बताए।
रुकुम पश्चिमका लागि यो प्रतियोगिता केवल अर्को प्रतियोगिता मात्र नभई नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा क्लबको पहिचान स्थापित गर्ने अवसर समेत भएकाले तयारीलाई तीव्र बनाइएको क्लबले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्