एसोसिएट क्रिकेटका दुई शक्तिबीच भिडन्त, नेपाललाई एसिया कपको लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २६

काठमाडौं । एसोसिएट क्रिकेटका दुई चिरप्रतिद्वन्द्वी नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) शनिबार एसीसी पुरुष प्रिमियर कपको उपाधिका लागि आमनेसामने हुँदैछन्। मलेसियामा हुने फाइनललाई उपाधिसँगै सन् २०२७ को एसीसी एसिया कपमा स्थान बनाउने निर्णायक भिडन्तका रूपमा हेरिएको छ।

नेपाल र यूएईबीचको प्रतिस्पर्धा पछिल्ला वर्षमा एसोसिएट क्रिकेटकै चर्चित ‘हाइभोल्टेज’ भिडन्तका रूपमा स्थापित भएको छ। निर्णायक खेलहरूमा पटक–पटक आमनेसामने भएका यी दुई टोलीबीचको खेलमा प्रतिष्ठा, बदला र सर्वोच्चताको प्रतिस्पर्धा देखिँदै आएको छ।

यूएई अपराजित, नेपाल चार जितसहित फाइनलमा

जारी प्रतियोगितामा यूएई उत्कृष्ट लयमा छ। उसले समूह चरणदेखि सेमिफाइनलसम्म पाँचवटै खेल जित्दै अपराजित यात्रा कायम राखेको छ।

नेपालले भने पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ। समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भए पनि नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा ओमानलाई पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।

ओमानविरुद्ध नेपालले १४७ रन मात्र बनाए पनि उत्कृष्ट बलिङ गर्दै लक्ष्य रक्षा गरेको थियो। यूएईविरुद्ध भने नेपाली ब्याटिङ अझ बलियो हुनुपर्ने चुनौती छ।

यूएईसँग पुरानो हिसाब

नेपाल र यूएईबीचका निर्णायक खेलहरूले यी दुई टोलीबीचको प्रतिद्वन्द्वितालाई थप रोचक बनाएका छन्।

सन् २०२२ को टी–२० विश्वकप छनोटको निर्णायक सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको थियो। त्यसको दुई वर्षपछि विश्वकप छनोटमै नेपालले यूएईलाई हराउँदै बदला लिएको थियो।

त्यस्तै, सन् २०२३ मा नेपालमा भएको पहिलो एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई पराजित गर्दै एसिया कपको टिकट काटेको थियो। तर सन् २०२५ को टी–२० प्रिमियर कपमा भने नेपाल सेमिफाइनलमा यूएईसँगै पराजित भएको थियो।

अब फेरि एकदिवसीय फर्म्याटको प्रिमियर कपको फाइनलमा दुवै टोली आमनेसामने हुँदैछन्। नेपाल दोस्रोपटक एसिया कप खेल्ने लक्ष्यमा छ भने यूएई ५० ओभरको एसिया कपमा पहिलोपटक स्थान बनाउने प्रयासमा छ।

हेड टु हेडमा नेपाल अगाडि

नेपाल र यूएईबीच हालसम्म १९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। नेपालले ११ खेल जित्दा यूएईले ८ खेलमा सफलता हात पारेको छ।

पछिल्लोपटक कीर्तिपुरमा भएको विश्वकप लिग–२ शृङ्खलामा नेपालले यूएईलाई दुवै खेलमा पराजित गरेको थियो। यद्यपि मलेसियाको मैदानमा सन् २०१८ मा भएको भेटमा यूएई विजयी भएको थियो।

दीपेन्द्रमाथि नेपालको भरोसा

फाइनलमा नेपालको ब्याटिङमा दीपेन्द्रसिंह ऐरी महत्वपूर्ण खेलाडीका रूपमा रहनेछन्। यूएईविरुद्ध विगतमा निर्णायक प्रदर्शन गर्दै आएका दीपेन्द्रबाट नेपालले फेरि प्रभावशाली इनिङ्सको अपेक्षा गरेको छ।

युवा ब्याटर इशान पान्डेको प्रदर्शन पनि महत्वपूर्ण हुनेछ। बलिङतर्फ कप्तान सन्दीप लामिछाने र करण केसी नेपालको मुख्य हतियार बन्न सक्छन्। स्पिनमैत्री पिच बनेमा ललित राजवंशी र शेर मल्लको भूमिका अझ महत्वपूर्ण हुने देखिन्छ।

यूएईका लागि कप्तान हरप्रित भाटिया र अदीब उसमानी ब्याटिङका मुख्य आधार हुन्। बलिङमा हेदर अली र आयान अफ्जल खानले नेपालको ब्याटिङलाई चुनौती दिन सक्नेछन्।

खेल विवरण

  • खेल: नेपाल भर्सेस यूएई, फाइनल
  • मिति: २७ भदौ, शनिबार
  • समय: बिहान ७ः१५ बजे
  • स्थान: वायुमास क्रिकेट ओभल, क्वालालम्पुर, मलेसिया
  • मौसम: बादल लाग्ने तथा वर्षाको सम्भावना

उपाधिसँगै एसिया कपको टिकट दाउमा रहेकाले नेपाल र यूएईबीचको यो फाइनल एसोसिएट क्रिकेटको अर्को महत्वपूर्ण र रोमाञ्चक भिडन्त बन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *