सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् ।
सोमबार करिब १२ः०० बजेको समयमा वाकुचोकबाट माप्य दुधकोशी गाउँपालिका–७ वरोदी रोचमतर्फ जाँदै गरेको बिएडी ७७४२ नम्बरको डबल क्याब बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी वाकुबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो । गाडी दुर्घटनामा परी बोलेरोमा सवार सबै ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी विकास राइले जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई उद्धार गरी स्वास्थ्य चौकी वाकुमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि रेफर गर्ने तयारी भइरहेको जनाएको छ । दुर्घटनाग्रस्त गाडी हाल घटनास्थलमै रहेको छ ।
घाइते हुनेहरूमा चालक माप्य दुधकोशी गाउँपालिका–५ काकु बस्ने २८ वर्षीय प्रदिप राई रहेका छन् । उनको बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर रहेको जनाइएको छ । सोही ठाउँ बस्ने २८ वर्षीया कुशुम राईको बायाँ कानबाट रगत बगेको र अवस्था गम्भीर रहेको छ।
त्यसैगरी २७ वर्षीय बलराम राई र ३० वर्षीय देबेन्द्र राई दुवैको टाउकोमा गम्भीर चोट लागी शरीर नचल्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
अन्य घाइतेहरूमा ३१ वर्षीय सुरेश राई (बायाँ घुँडामा चोट) , १९ वर्षीय मनोज राई (बायाँ घुँडा र टाउकोमा चोट) तथा १७ वर्षीय सदिप राई रहेका छन्, उनीहरुको अवस्था मध्यम रहेको स्वास्थ्यकर्मीले बताएका छन् । दुर्घटनामा घाइते भएका २७ वर्षीया देविका राई र २७ वर्षीया सबिना राई को अवस्था सामान्य रहेकाले उपचारपछि डिस्चार्ज गरिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्