रुकुमपूर्वमा हेलिकप्टरमार्फत मतपत्र ल्याइँदै, मतगणना भोलि हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २१

काठमाण्डौँ । रुकुमपूर्वका उत्तरी क्षेत्रका मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिएको छ ।

पैदल मार्गबाट सदरमुकाम ल्याउन दुई दिनसम्म लाग्ने भएपछि निर्वाचन आयोगको समन्वयमा सेनाको हेलिकप्टरमार्फत ढुवानी सुरु गरिएको हो ।

​प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार बिहीबार साँझ ५ बजे नेपाली सेनाको हेलिकप्टर सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकातर्फ गएको छ ।

​पहिलो चरणमा पुथा उत्तरगंगा गाउँपालिका–२ स्थित पेल्मा र सोही वडाको आधारभूत विद्यालय हार्दिवाङका मतपेटिकाहरू संकलन गरेर ल्याइएको छ । त्यस्तै आजै दोस्रो चरणमा सिस्ने गाउँपालिका–१ स्थित साविकको पाखापानी गाविस भवनमा रहेको मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको परियारको भनाइ छ ।

जिल्लाका कुल ५७ मतदान स्थलमध्ये बाँकी ५४ वटा केन्द्रका मतपेटिकाहरू भने पैदल मार्गबाटै आज रातिसम्म सदरमुकाम पुर्‍याइनेछ ।

​निर्वाचन कार्यालय रुकुमपूर्वका अनुसार आज रातिसम्म सबै मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्नेछन् । ‘सबै क्षेत्रका मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर भोलि (शुक्रबार) बिहानदेखि मतगणना सुरु गर्ने तयारी छ,’ निर्वाचन कार्यालले भनेको छ ।

​जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र अहिले गणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *