अन्नपूर्ण स्पाइकर किङ्स बन्यो एनभीएलको पहिलो विजेता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २८

काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई सोझो तीन सेटमा पराजित गर्दै ऐतिहासिक उपाधि जितेको हो।

अन्नपूर्णले खेल २५–१५, २५–२० र २५–१८ ले आफ्नो पक्षमा पार्‍यो। यससँगै उसले लिग चरणमा कर्णालीसँग बेहोरेको १–३ को हारको बदला पनि लिएको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका अन्नपूर्णका उरनबयार मुंखबयार ‘म्यान अफ द म्याच’ बने।

उपाधिसँगै अन्नपूर्णले २० लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता कर्णालीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।

लिग चरणमा १२ अंक जोड्दै अन्नपूर्ण शीर्ष स्थानमा रहेको थियो। कर्णाली भने ११ अंकसहित प्लेअफमा पुगेको थियो। प्लेअफमा काठमाडौं रेड्सलाई ३–१ ले हराएपछि कर्णालीले फाइनलमा अन्नपूर्णसँगको भेट पक्का गरेको थियो।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि अन्नपूर्णका खेलाडीको दबदबा रह्यो। उसका उरनबयार मुंखबयार ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए। अन्नपूर्णकै खेलाडीले उत्कृष्ट सर्भर, सेटर र अपोसिट हिटरको पुरस्कार पनि हात पारे।

कर्णालीका विनोदबहादुर चन्द उत्कृष्ट लिबेरो, मधेश वारियर्सका रविन नगरकोटी उत्कृष्ट मिडिल ब्लकर तथा काठमाडौंका अहमद मुस्ताफा खान उत्कृष्ट आउटसाइड हिटर चुनिए।

पहिलो संस्करणमा ६ पुरुष टोली सहभागी थिए। प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ थियो, जुन नेपाली भलिबलमा हालसम्मकै ठूलो पुरस्कार राशि भएको आयोजकले जनाएको छ। नेपालमा पहिलोपटक आयोजना गरिएको पुरुष फ्रेन्चाइज भलिबल लिगले नेपाली भलिबललाई व्यावसायिक रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको समापनमा आयोजक तथा नेपाल भलिबल संघका पदाधिकारीहरूले निजी क्षेत्र, खेलाडी र दर्शकको सहकार्यले लिग सफल भएको बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *