काठमाण्डौँ । कर्णालीका डोल्पा र हुम्ला जिल्लाका विकट मतदान केन्द्रमा हेलिकोप्टरबाट निर्वाचन सामाग्री पुर्याउन थालिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सामाग्री र कर्मचारीहरू नेपाली सेनाको हेलिकोप्टरबाट मतदान केन्द्रमा पुर्याउन लागिएको हो । गत साता परेको हिउँले बाटो बाटो बन्द भए पनि हेलिकोप्टर प्रयोग गर्नु परेको हो ।
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा-६, छार्काताङसोङ गाउँपालिकामा ६ र शेफोक्सुण्डो गाउँपालिकाकामा ११ मतदान केन्द्रमा शनिबारदेखि नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री र कर्मचारी पठाउन थालिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन् ।
हुम्लाको नाम्खा गाउँपालिकामा ४ मतदान स्थलमा पनि हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए ।
नाम्खा गाउँपालिका-६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी, हिमशिखर आधारभूत विद्यालय तील सोही गाउँपालिका(४ को हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकोप्टरबाट ढुवानी गरिने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
हिमपातले यातायात सेवा अवरुद्ध भएका कारण चारवटा मतदान केन्द्रमा २० कर्मचारी, नेपाली सेना, निर्वाचन प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी ८० जना गरी एक सय दुई जना कर्मचारी र निर्वाचन सामग्री हेलिकोप्टरबाटै पठाइने बताए ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्