सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई खेलकुदसँग जोड्दै आफ्नो क्षेत्रलाई अन्तर्राष्ट्रिय ट्रेल रनिङको गन्तव्यका रूपमा स्थापित गर्ने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाले आयोजना गर्दै आएको ‘एभरेस्ट भ्यू ट्रेल रेस’ले अन्तर्राष्ट्रिय ट्रेल रनिङको प्रतिष्ठित संस्था Ultra-Trail du Mont-Blanc (UTMB) बाट मान्यता प्राप्त गरेपछि माप्य दुधकोशीको साहसिक पर्यटनले अन्तर्राष्ट्रिय पहिचान पाउने आधार बलियो बनेको छ।
गाउँपालिकाको आयोजना तथा पहलमा हुँदै आएको यो ट्रेल रेसमा यसअघि नेपालसहित विभिन्न देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धावकहरूले सहभागिता जनाइसकेका छन्। प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, चुनौतीपूर्ण भूगोल, स्थानीय संस्कृति तथा धार्मिक सम्पदालाई समेटेर तयार गरिएको ट्रेलले खेलकुदका माध्यमबाट माप्य दुधकोशीलाई विश्वका ट्रेल रनरहरूमाझ चिनाउने काम गरिरहेको छ।
एभरेस्ट भ्यू ट्रेल रेसको तेस्रो संस्करण आगामी २०८३ मंसिर १७ गते अर्थात् ३ डिसेम्बर २०२६ मा सञ्चालन हुँदैछ। यसपटक पनि ४८ किलोमिटर दूरीको रेस आयोजना गरिनेछ। रेसमा २,९१४ मिटर elevation gain रहेको छ भने यसको उच्चतम बिन्दु ३,१८१ मिटर उचाइमा रहेको कुधम हाई क्याम्प हो। रेसको अन्तिम कट-अफ समय ७ घण्टा ४५ मिनेट निर्धारण गरिएको छ।
माप्य दुधकोशीको भूगोल र प्राकृतिक विविधतालाई समेट्ने रेस रुटको प्रमुख आकर्षणमध्ये महभीर, सिलगुडी, कुधम हाई क्याम्प, ब्लास झरना र कैलाशनाथ महादेव मन्दिर रहेका छन्। सिलगुडी क्षेत्रबाट धावकहरूले सगरमाथासहित कञ्चनजङ्घा, नुम्बुर, थामसेर्कु र मेरा पिकलगायत हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न सक्छन्।
UTMB बाट मान्यता प्राप्त हुनुका साथै एभरेस्ट भ्यू ट्रेल रेसले International Trail Running Association (ITRA) बाट समेत मान्यता प्राप्त गरेको छ। रेसलाई ITRA अन्तर्गत ३ Endurance Points प्रदान गरिएको छ। यसले माप्य दुधकोशीमा आयोजना हुने ट्रेल रेसलाई अन्तर्राष्ट्रिय ट्रेल रनिङको सञ्जालसँग जोड्न थप महत्वपूर्ण आधार तयार गरेको गाउँपालिकाको विश्वास छ।
गाउँपालिकाले पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई एकीकृत गर्दै एभरेस्ट भ्यू ट्रेल रेसलाई केवल प्रतियोगिताका रूपमा नभई माप्य दुधकोशीको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई विश्वसामु चिनाउने अभियानका रूपमा अघि बढाएको छ।
गाउँपालिकाका अनुसार ट्रेल रेसमार्फत बाह्य तथा आन्तरिक पर्यटकको आगमन बढाउने, स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाउने र माप्य दुधकोशीका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने लक्ष्य राखिएको छ।
तेस्रो संस्करणको रेसमा महिला तथा पुरुषतर्फ विभिन्न उमेर समूहसँगै खुला विधामा प्रतिस्पर्धा हुनेछ। खुला विधामा प्रथम हुने धावकले १ लाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। नेपाली तथा विदेशी धावकका लागि खुला रहेको प्रतियोगिताको दर्ता निःशुल्क गरिएको छ।
सगरमाथाको प्रवेशद्वारका रूपमा परिचित सोलुखुम्बुको माप्य दुधकोशीले अब हिमाली पर्यटनसँगै अन्तर्राष्ट्रिय ट्रेल रनिङमार्फत आफ्नो छुट्टै पहिचान निर्माण गर्ने प्रयास गरिरहेको छ। UTMB को मान्यताले यही प्रयासलाई विश्व ट्रेल रनिङ समुदायसम्म पुर्याउने महत्वपूर्ण ढोका खोलिदिएको छ।
माप्य दुधकोशीको एभरेस्ट भ्यू ट्रेल रेसको रुट ट्रेकिङका लागि समेत आकर्षक पदमार्गका रूपमा स्थापित हुँदै गएको छ। यही रुटमा वर्षेनी स्वदेशी तथा विदेशी पर्यटकहरू ट्रेकिङका लागि आउने गरेका छन्। ट्रेल रेसमार्फत अन्तर्राष्ट्रिय धावक र ट्रेकिङमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको यस पदमार्गले माप्य दुधकोशीको प्राकृतिक, हिमाली तथा सांस्कृतिक पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्