माप्यदुधकोशीमा बहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १६

सोलुखुम्बु — माप्यदुधकोशी गाउँपालिका–२, ठुलोढुङ्गामा व्यतेप्कु ख्याःल् म्योलतम समाजद्वारा निर्माण गरिएको बहुउद्देश्यीय सामुदायिक भवनको शनिबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।

‘एकता, समुदाय र संस्कृतिको विकास’ भन्ने नारासहित निर्माण गरिएको उक्त भवनको उद्घाटन माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गरे। भवन माप्यदुधकोशी गाउँपालिका तथा एन्टन थालर (अष्ट्रिया) को आर्थिक सहयोग र ग्रीन हिमालय प्रतिष्ठानको समन्वयमा निर्माण गरिएको हो।

उद्घाटन समारोहमा अध्यक्ष राईले भवनले स्थानीय समुदायका विभिन्न आवश्यकतामा सहयोग पुर्‍याउने बताउँदै सामुदायिक स्वामित्व र संरक्षणको आवश्यकता औंल्याए। उनले भने, “यो भवनलाई बहुउद्देश्यीय रूपमा प्रयोग गर्दै यसको संरक्षण गर्न प्रत्येक स्थानीय बासिन्दाको समान जिम्मेवारी रहन्छ।”

उनका अनुसार भवनले स्थानीय एकता, सांस्कृतिक संरक्षण र सामुदायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

समाज लामो समयदेखि स्थानीय संस्कृति, भाषा र परम्पराको संरक्षणमा सक्रिय रहँदै आएको छ। नयाँ सामुदायिक भवनको स्थापना त्यस अभियानलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष गौरव खालिङ, सहयोगी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय अगुवा र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *