काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात रहेको छ।
यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।
विपद् प्राधिकरणलाई १ अर्ब निकासा
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।
बाढीपछि सरकारले प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था तथा निकायबाट सहयोग रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा जम्मा भएको हो।
सरकारले संकलित रकमलाई विपद् प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा आवश्यक पूर्वाधार निर्माणमा परिचालन गर्ने जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्