समस्याग्रस्त सहकारीका ठूला ऋणीले बहुसंस्थाबाट कर्जा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २४

काठमाडौँ । समस्याग्रस्त सहकारीका ठूला ऋणीले बहुसंस्थाबाट कर्जा लिएको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार एउटै व्यक्तिले बहुसंस्थाबाट कर्जा लिएर नतिरेको पाइएको हो ।

कार्यालयका अनुसार एकै व्यक्ति बहुसंस्थाबाट मात्र नभई एकै संस्थाबाट पनि बहुकर्जा समेत लिएको पाइएको छ । सो अनुसार रामप्रसाद पौडेलले नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्थाबाट दुई वटा कर्जा लिएका छन् । त्यसैगरी तुलसी बहुमुखी सहकारी संस्थाबाट अशोक कुमार अग्रवालले २ वटा कर्जा लिएको पाइएको समितिले जनाएको छ ।

ज्ञानबहादुर तामाङ भन्ने व्यक्तिले एकै पटक ३ वटा सहकारीबाट कर्जा लिएको देखिन्छ । तामाङले तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, घेदुङ बहुउद्देश्यीय सहकारी संस्था र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाबाट कर्जा लिएका छन् । समितिका अनुसार उनी तीनवटै संस्थाका ठूला ऋणी हुन् ।

कार्यालयको बारम्बारको ताकेतापछि पनि सम्पर्कमा नआएपछि समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम नै सार्वजनिक गरिएको छ । सो अनुसार कार्यालयले समस्याग्रस्त १० वटा सहकारीका ठूला ऋणी ८२ जनाको नाम सार्वजनिक गरेको हो । समितिले ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिएको छ । अन्यथा कानुन बमोजिम असुली गरिने समेत कार्यालयले जनाएको छ ।

कार्यालयले बचतकर्ताको बचत फिर्ता गर्न ठूला ऋणीबाट असुली गर्ने र पहिलो चरणमा साना बचतकर्ताको बचत फिर्ताको रणनिति बनाएको छ । सो अनुसार समिति ठूला ऋणीप्रति कठोर हुँदै असुलीको प्रक्रिया सुरु गरेको हो । सोही क्रममा नाम सार्वजनिक गरेको समितिको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *