समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापनका कानुनी जटिलता हटाइँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ५

काठमाण्डौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले स्वार्थ समूहको अनुचित हस्तक्षेपले असुली र बचत भुक्तानी गर्न नसकेको स्पष्ट भएको छ ।

कार्यालयले समस्याग्रस्त सहकारीका सम्पत्ति र दायित्व राफसाफ गर्न खोजे पनि आवश्यक दबाबका कारण नसकेको स्वीकारेको हो ।

त्यस्तै समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहजीकरणमा असुलीमा देखिएका समस्या समाधान गर्ने भएको छ ।

मन्त्रालयले पनि सहकारी समस्या समाधानका लागि समितिलाई आवश्यक स्रोतसाधन व्यवस्थापन तथा कानुनी जटिलता सम्बोधनमा सहजीकरण गर्ने भएपछि समिति सोही अनुसार श्वेतपत्र जारी गरेर काम गर्ने भएको छ ।

समिति कार्यलयले समस्याग्रस्त सहकारीको पछिल्लो अवस्था, व्यवस्थापनमा देखिएका समस्या, चुनौती र समाधान सहित श्वेतपत्र नै जारी गर्दै स्वार्थ समूहका कारण स्वतन्त्र रूपमा काम गर्न नसकेको स्वीकारेको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी श्वेतपत्र २०८२ अनुसार स्वार्थ समूह र पक्षहरूको अनुचित हस्तक्षेप र दबाबमुक्त गरी स्वतन्त्र र निष्पक्ष ढंगले कार्यसम्पादन गर्ने वातावरण समितिमा निर्माण हुने समितिको दाबी छ ।

त्यसका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको समेत पहलमा सम्पूर्ण सहकारीलाई कर्जा सूचना सदस्यता दिलाउन मन्त्रालयबाटै पहल हुनुपर्ने छ ।

समस्याग्रस्त सहकारीको ऋण असुली तथा सम्पत्ति प्राप्तिका आधारमा पहिले प्राप्त भएका रीत पुगेका निवेदन अनुसार क्रमशस् बचत फिर्ता गर्ने व्यवस्था मिलाउने कार्यालयले जनाएको छ ।

समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी कार्य सम्पन्न गर्न समितिको अनुरोध र मन्त्रालयको पहलमा पर्याप्त स्रोतसाधन उपलब्धता हुनेछ । सोही अनुसार सम्पत्ति बिक्री गर्न देखिएको कानुनी जटिलता पनि हटाइने गरी काम अघि बढेको समितिले जनाएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको आन्तरिक कार्य सञ्चालन प्रक्रिया व्यवस्थित र सरलीकरण गर्न नीतिगत तथा कार्यविधिगत व्यवस्था समितिको अग्रसरता र मन्त्रालयको सहयोगमा हुने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *