×

धितोपत्र बोर्डले प्रक्रिया पूरा नगरेका कम्पनीको नाम छुट्टै सार्वजनिक गर्ने

जेष्ठ १, २०८२ | दाक्सु मिडिया

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन स्वीकृतिका लागि प्रक्रिया पूरा नभएका कम्पनीको नाम लिष्ट सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष सन्तोषणनारायण श्रेष्ठले स्वीकृति गर्न कमिसन मागेको आरोप लागेको हो ।

आईपीओ स्वीकृतिमा अध्यक्षलाई कमिसनको आरोप लागेसँगै बोर्डले प्रक्रिया नपुगेका कम्पनीको नाम छुट्ट्याउन लागेको देखिन्छ ।

करिब २ वर्षयता प्रक्रिया पूरा भएका कम्पनीको समेत आईपीओ निष्कासन रोकिएको छ । धितोपत्र बोर्डमा लामो समय अध्यक्ष नहुँदा आईपीओ निष्कासन रोकिएको थियो । बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएसँगै आईपीओ निष्कासन अघि बढ्ने अपेक्षा गरिए पनि धेरै कम्पनीको आईपीओ स्वीकृत हुन सकेको छैन ।

आईपीओ स्वीकृतको पाइपलाइनमा धेरै कम्पनी भएको र फाइल हेर्न समय लागेकाले आईपीओ स्वीकृतिमा ढिला भएको बोर्डको भनाइ छ । त्यसैले बोर्डले अब ‘फास्ट ट्र्याक’मा काम गर्न प्रक्रिया पूरा भएका र प्रक्रिया पूरा नभएका कम्पनीको लिष्ट छुट्ट्याउन लागेको प्रस्ट पारेको छ ।

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बोर्डमा आईपीओको लागि निवेदन दिएका कम्पनीहरूको प्रक्रियामा किन ढिलो भएको भन्ने कारणसहित कम्पनीहरूको नाम सार्वजनिक गर्ने तयारीमा रहेको बताएका छन् । उनले तत्काल आईपीओ स्वीकृत प्रक्रिया अगाडि बढाउन सक्ने र नसक्ने कम्पनीको लिष्ट बनाउन लागिएको उल्लेख गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: