×

मंगलबार सामान्य अंकले घट्यो सेयर बजार

चैत्र २५, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा बन्द भएको छ ।

यसदिन कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार पाँच अर्ब ६५ करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ३० करोडको कारोबार भएको छ ।

यो रकम अघिल्लो दिनको तुलनामा ३५ करोड रूपैयाँ कमी आएको हो । आज ३२१ वटा धितोपत्रको एक करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर किनबेच भएको हो ।

मंगलबार १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ वटाको घटेको छ।

यसदिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बेटलर्स नेपाल (बालाजु) र विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतका दरले बढेको छ भने नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशत बढेको हो ।

मंगलबार बाराही हाइड्रोपावर पावरको मूल्य सर्वाधिक ५.८५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४७ रूपैयाँ ६६ पैसामा झरेको छ ।

यस्तै, सामुदायिक लघुवित्तको मूल्य ४.६२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ८४२ रूपैयाँ ४२ पैसा कायम भएको छ ।

मंगलबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको प्रतिकित्ता एक हजार ६७८ रूपैयाँमा ५९ करोड १४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २.८७ प्रतिशत घटेको हो ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमायलन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३८ रूपैयाँमा ४० करोड ६५ लाख बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: