
काठमाण्डौँ । यो साता सेयर बजार परिसूचक ७१.३० अंकले बढेको छ । चार दिन कारोबार भएको यो सातामा सबै दिन नेप्से परिसूचक सकारात्मक हुँदा बजार परिसूचक २ हजार ८ सय १५ दशमलव ०४ विन्दुमा पुगेको हो । अघिल्लो साता बिहीबार अन्तिम कारोबार हुँदा बजार परिसूचक २ हजार ७ सय ४३ दशमलव ७४ अंकमा बन्द भएको थियो ।
यो साता आइतबार बजार परिसूचक ११.६६ अंकले बढेको थियो । उक्त दिन ११ अर्ब ४२ करोड रुपैयाँ बराबको सेयर कारोबार भएको थियो । यो दिन १ लाख ७ हजार वटा कारोबार हुँदा १ करोड ३४ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको थियो ।
त्यस्तै, सोमबार बजार परिसूचकमा झिनो वृद्धि देखिएको थियो । ३.३५ अंकले बजारमा यो दिन १० अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेको तथ्यांक छ । यो दिन १ लाख १ हजार पटक कारोबार हुँदा कुल १ करोड ८७ लाख कित्ता सेयरको कारोबार भएको थियो ।
मंगलबार बजार परिसूचक ७.१३ अंकले बढेको थियो । यो दिन कारोबार रकम घटेर ९ अर्ब ६१ करोडमा सीमित भएको थियो । उक्त दिन ९५ हजार कारोबारमा करिब ९६ लाख १० हजार कित्ता सेयर किनबेच भएको थियो ।
मंगलबार साँझ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्यो । उक्त समीक्षाले खासगरी बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित असल कर्जाको प्रोभिजनिङलाई ०.१० प्रतिशत विन्दुले घटाएर १ प्रतिशतमा झारेको थियो ।
मौद्रिक नीतिको यो व्यवस्थापछि बिहीबार खुलेको सेयर बजार एकै दिन ४९.१५ अंकले बढेको बढ्यो । योसँगै बजार परिसूचक अहिलेको अवस्थामा पुगेको हो । बजारको यो सूचक गत वर्ष भदौ १० गते २ हजार ८ सय ९४ दशमलव ५७ विन्दुमा थियो । उक्त दिन बजार परिसूचक एकै दिन १११.९६ अंकले घटेपछि अहिलेको विन्दुभन्दा माथि जान सकेको थिएन । मौद्रिक नीतिको धक्काले बजारलाई ६ महिना अघिको अवस्थामा पुर्याइदिएको हो ।
नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया