
काठमाण्डौँ । पाँच कारोबार दिनपछि मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
गत मंगलबारदेखि घट्न थालेको बजारले हिजो सोमबार सम्म निरन्तरता पाएको थियो । आज अर्थात् मंगलबार भने नेप्से ६।५४ अंकले बढेर २६८३.८६ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ। गत कारोबार दिन अर्थात् सोमबार ६ अर्ब ९६ करोडको कारोबार भएकोमा मंगलबार सात अर्ब २० करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २४ करोड रूपैयाँ वृद्धि भएको हो । आज २९९ वटा धितोपत्रको एक करोड ३९ लाख आठ हजार ७८४ कित्ता सेयर किनबेच भएको हो ।
मंगलबार १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९८ वटाको घटेको छ। यस्तै ११ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन सिक्लेस हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ३५८ रूपैयाँ ५० पैसा र एक हजार १८७ रूपैयाँ पुगेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया