कोरोनाको तेस्रो भेरिएन्ट ‘ओमिक्रोन’ छिमेकी मुलुक भारतमा फैलिसकेकाले खुला सीमा रहेको सुदूरपश्चिममा अत्यधिक जोखिम छ । सुदूरपश्चिमबाट भारत आवतजावत गर्नेको बाक्लो संख्या हुने भएकाले जुनसुकै बेला ओमिक्रोन भित्रिएर फैलिनसक्ने स्वास्थ्यकर्मीहरूको बुझाइ छ । तेस्रो भेरिएन्ट भित्रिन र फैलिन नदिनका लागि पूर्वतयारी स्वरूप जनशक्ति र पूर्वाधारमा सुदूरपश्चिमले विशेष ख्याल गर्नुपर्ने आवश्यकता भए पनि लापरबाही भइरहेकामा स्वास्थ्यकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । ‘खुला सीमा भएकाले अन्यत्रभन्दा हाम्रो प्रदेशमा जोखिम बढी छ,’ प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक डा. गुणराज अवस्थी भन्छन्, ‘पोहोरभन्दा धेरै हदसम्म तयारी त भएको छ । तर अझै धेरै गर्न बाँकी छ ।’ पहिलो र दोस्रो चरणमा कैलाली र कञ्चनपुर कोरोना संक्रमणको हटस्पट नै बनेका थिए । तीव्र गतिमा फैलिन सक्ने अनुमान गरिएको तेस्रो ओमिक्रोनको रोकथाम तथा नियन्त्रण गर्न खोप, पूर्वाधार र जनशक्ति व्यवस्थापनमा जोड दिइएको सम्बन्धित निकायले जनाएका छन् । १७ वर्षमूनिको उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान चलिरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘त्यसभन्दा माथिको उमेर समूहकालाई भने पहिल्यैदेखि खोप प्रदान गरिरहेका छौं,’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने ‘कम्तीमा एक डोज भए पनि सुदूरपश्चिममा लक्षित सबै जनसंख्याले खोप पाइसकेका छन् ।’ गत वर्ष उपकरण भएर पनि जनशक्ति अभावमा पहाडी जिल्लाका अस्पतालहरू सञ्चालन हुन नसकेर थन्किएका आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि प्रदेश सरकारले डाक्टर र नर्सलाई आवश्यक तालिम दिइएको प्रवक्ता कार्कीले बताए । ‘केही दिनभित्र क्रिटिकल केयरका लागि हरेक जिल्ला अस्पतालबाट एक डाक्टर र एक नर्सलाई तालिम प्रदान गर्ने तयारी भएको उनको भनाइ छ ।अर्कोतिर कैलाली र कञ्चनपुरका सीमा नाकामा एक/एक हजार शय्या क्षमताको सुविधासम्पन्न होल्डिङ सेन्टर निर्माणको अन्तिम चरणमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्री लालबहादुर खड्काले भने, ‘ती होल्डिङ सेन्टर तयार भए पनि बिरामीलाई कता राख्ने भन्ने समस्या हुने छैन । संघ सरकारको सहयोगमा सेनाले निर्माण गरिरहेका ती होल्डिङ सेन्टर यही महिनाभित्र तयार गरिसक्ने लक्ष्य रहेको उनको भनाइ छ ।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्