सल्यान । त्रिवेणी गाउँपालिका–५ सिम्कमा शनिबार बिहान भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सिंखको भित्री सडकमा बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा त्रिवेणी–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी–५ सल्लेकी करिब १८ वर्षीया विपना बुढाथोकी र सोही गाउँपालिका–५ का ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको हो। रेशम र विपनाको घटनास्थलमै मृत्यु भएको थियो भने डिल्लीबहादुरको उपचारका क्रममा दाङमा ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक २४ वर्षीय भुपाल पुनसहित पारस बोहरा र लालमति बुढाथोकी घाइते भएका छन्। चालक पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते तीनै जनालाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्