काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका विदेशमन्त्री चो र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ ।
विदेशमन्त्री चोले आइतबार परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री खनालसँग भेटवार्ता गरेका हुन् । भेटमा भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिको पछिल्लो अवस्थाबारे छलफल भएको छ ।
भोटेकोशी बाढीमा अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका छन् । विदेशमन्त्री चोले उनीहरूको खोजी तथा उद्धारको अवस्थाबारे परराष्ट्रमन्त्री खनालसँग जानकारी लिएका थिए ।
दक्षिण कोरियाको ‘कोरिया डिजास्टर रिलिफ टिम’ हाल नेपालमा उद्धार कार्यमा खटिरहेको छ । भेटमा आवश्यक परे थप सहयोग तथा प्राविधिक जनशक्ति नेपाल पठाउन सकिने धारणा विदेशमन्त्री चोले राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले बेपत्ता कोरियाली नागरिकको खोजीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै विपद्को समयमा कोरिया सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
उनले बाढीपीडितका लागि दक्षिण कोरियाबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति समेत आभार व्यक्त गर्दै विपद्पछिको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
मन्त्री खनालले भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्ने गरी दिगो तथा सुरक्षित पूर्वाधार निर्माण र ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने बताए । यसका लागि दक्षिण कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वाससमेत उनले व्यक्त गरे ।
भेटमा विदेशमन्त्री चोले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आफ्नो सरकारले आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताए ।
जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनबाट सिर्जित विपद्का विषयमा नेपाल र दक्षिण कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालजस्ता मुलुकले भोगिरहेका जलवायुजन्य चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा पनि चोले राखे । जलवायु परिवर्तनबाट भएको क्षतिका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा कोरियाले समेत आवाज उठाउने उनले प्रतिबद्धता जनाए ।
नेपाल र दक्षिण कोरियाबीच श्रम, विकास साझेदारी, व्यापार, लगानी, प्रविधि तथा जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ । पछिल्लो विपद्का समयमा दक्षिण कोरियाबाट प्राप्त खोज तथा उद्धार सहयोग, मानवीय सहायता र राहत सामग्रीले दुई देशबीचको सम्बन्ध र ऐक्यबद्धतालाई थप बलियो बनाएको छ ।
विदेशमन्त्री चो शनिबार विशेष विमानमार्फत नेपाल आएका हुन् । उनको नेपाल भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्