कांग्रेस सांसदले आधा महिनाको तलब राहत कोषमा दिने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १५

काठमाडौं । प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेसका सांसदहरूले आफ्नो आधा महिनाको पारिश्रमिक सहयोग गर्ने भएका छन्।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले दलका सबै सांसदको आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।

बैठकमा हालैको अविरल वर्षा, बाढी र पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्याबारे समेत छलफल भएको थियो। अनुगमनमा सहभागी कांग्रेस नेताहरूले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको अवस्था बैठकमा जानकारी गराएका थिए।

प्रमुख सचेतक थापाले विपद्का समयमा प्रभावित नागरिकका समस्या सरकारसमक्ष प्रभावकारी रूपमा उठाउन संसद् तत्काल सञ्चालन गर्नुपर्ने बताइन्। उनका अनुसार संसद् चलेपछि जिल्लास्तरमा रहेका पीडित तथा बेपत्ता नागरिकका विषयमा छलफल गर्दै सरकारलाई थप जवाफदेही बनाउन सकिनेछ।

संसद् सञ्चालनका विषयमा सभामुखसँग छलफल गरिने पनि थापाले बताइन्। सरकारले राहत वितरणमा अपनाएको एकद्वार प्रणालीप्रति भने कांग्रेसले असन्तुष्टि जनाएको छ। राहत संकलनमा एकद्वार प्रणाली प्रभावकारी भए पनि वितरणको जिम्मेवारी स्थानीय तथा प्रदेश तहलाई बढी दिनुपर्ने थापाको भनाइ छ।

उनले स्थानीय सरकारले प्रभावित घरधुरीको संख्या, आवश्यक राहतको प्रकार र प्राथमिकताबारे बढी जानकारी राख्ने भएकाले संघीय सरकारले सबै काम आफैं गर्न खोज्दा राहत वितरणमा ढिलाइ र अव्यवस्था देखिएको बताइन्।

अनुगमनका क्रममा महिला तथा बालबालिकाले विपद्को अवस्थामा थप कष्ट भोग्नुपरेको पाइएको भन्दै थापाले सरकार तथा मानव अधिकारसम्बन्धी संघसंस्थाको ध्यानाकर्षण गराइन्। साथै, उद्धार तथा राहत अभियानमा अनावश्यक भीडभाड नगरी उद्धारकर्तालाई सहज रूपमा काम गर्ने वातावरण बनाउन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरिएको उनले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *