मागअनुसार मल आपूर्ति नहुँदा मधेसका किसान चिन्तित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २४

काठमाडौँ । खेतीको मुख्य सिजन सुरु भएसँगै मधेस प्रदेशका किसान फेरि रासायनिक मलको अभावबाट चिन्तित बनेका छन् । प्रत्येक वर्षजस्तै यस वर्ष पनि समयमै मल आपूर्ति नहुँदा किसानले खेती व्यवस्थापनमा कठिनाइ भोग्नुपरेको बताएका छन् ।

हाल मकै, चैते धान र उखु खेतीका लागि रासायनिक मल अत्यावश्यक रहेको किसानहरूको भनाइ छ । केही महिनापछि सुरु हुने धान रोपाइँका लागि समेत अहिलेबाटै मलको जोहो गर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् ।

अन्न उत्पादनको दृष्टिले महत्त्वपूर्ण मानिने मधेस प्रदेशमै मल अभाव बढ्न थालेपछि किसानहरू निराश बनेका छन् । रासायनिक मल, भरपर्दो सिँचाइ र उन्नत बीउको सहज उपलब्धता नहुँदा कृषि उत्पादनमा ह्रास आउने किसानहरूको गुनासो छ ।

धनुषाका किसान रामप्रसाद साहले सरकारले कृषिलाई प्राथमिकता दिएको दाबी गरे पनि किसानलाई आवश्यक पर्ने मल समयमै उपलब्ध गराउन नसकेको आरोप लगाए ।

सर्लाहीको नवलपुरका किसान अशोक झाले बजारमा मलको अभावसँगै कालोबजारीसमेत बढेको बताए। समयमै मल नपाउँदा उखु रोप्न समस्या भएको उनको भनाइ छ।

त्यस्तै धनुषाको नगराइन नगरपालिका निवासी ज्योतिष चन्द्र झाले गत वर्षझैँ यस वर्ष पनि मल अभाव दोहोरिएको बताए ।

किसानहरूले समयमै मल आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

सरकारको अनुदानमा मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधाममा मधेस प्रदेशका लागि आवश्यक परिमाणमा डीएपी र युरिया मल मौज्दात नरहेको जनाइएको छ ।

किसानहरूका अनुसार एक पटक रासायनिक मल प्रयोग गरिसकेको खेतमा पुनः मल प्रयोग नगर्दा धान, गहुँ लगायतका बालीको उत्पादन उल्लेख्य रूपमा घट्ने भएकाले मल प्रयोग अपरिहार्य बनेको छ।

कृषि सामग्री प्रादेशिक कार्यालयको साउन १ देखि चैत ३० गतेसम्मको तथ्यांकअनुसार हाल २७ हजार ४३१ मेट्रिक टन युरिया, १० हजार २१५ मेट्रिक टन डीएपी, ४ हजार ७५८ मेट्रिक टन पोटास तथा ५२ मेट्रिक टन चुनसहित कुल ४२ हजार ६२८ मेट्रिक टन मल मौज्दात रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *