काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गतेको निर्वाचनलाई असामान्य र अस्वाभाविक भनेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने क्रममा रुकुमपश्चिम पुगेका प्रचण्डले मुसिकोटमा पत्रकारसँग कुरा गर्दै निर्वाचन र यसको परिणामलाई असामान्य र अस्वाभाविक भनेका हुन् ।
यसको अध्ययन र अनुसन्धान अझै गहिरो रूपमा गर्नुपर्छ भन्ने आफ्नो पार्टीको निष्कर्ष रहेको उनले बताए । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झन्डै २ तिहाइको मतलाई भने आफूहरूले स्वीकार गरेको पनि उनले बताए ।
प्रचण्डले आफ्नो पार्टीले सरकारले गर्ने राम्रा कामको समर्थन र नराम्रा काममा आलोचना गर्ने तथा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।
उनले नेकपाले अब युवाहरूलाई विशेष प्राथमिकता दिने बताए । वडादेखि केन्द्रसम्म निर्वाचनबाट नेतृत्व चयन हुने र प्रत्येक कमिटीमा ५० प्रतिशत युवा र नव युवाको प्रतिनिधित्व रहने उनले बताए ।
संयोजक प्रचण्डले सिङ्गो कम्युनिस्ट आन्दोलनको पुनर्गठन आवश्यक रहेको बताए ।
यसैबिच उनले सरकारले गरेका पछिल्ला निर्णयहरूको विरोध समेत गरे । सुकुमवासीलाई बल प्रयोग गरेर हटाउने, ट्रेड युनियन खारेज, विद्यार्थी सङ्गठनमाथिको प्रहार, अध्यादेश ल्याउने र बोलाइसकेको संसद् बैठक स्थगित गर्ने निर्णय असंवैधानिक रहेको उनले बताए ।
पछिल्ला केही कदमले सरकार निरङ्कुशतातर्फको यात्रा हुनसक्ने देखिएको भन्दै उनले सरकारलाई सच्चिन आग्रह समेत गरे । उनले आफू अहिलेको सरकारको अभिभावक रहेको भन्दै उनले नराम्रा काममा सधैँ खबरदारी गरिरहने पनि बताए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्