काठमाण्डौँ । आउँदो वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक चन्द्रगढी युवा क्लबले आज खेलतालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार उद्घाटन खेलमा पोखराको आरएस पोखरा फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै वैशाख ६ गते भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड खेल्नेछन् ।
वैशाख ७ गते नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लब खेल्नेछन् । वैशाख ८ गते एपीएफ फुटबल क्लब र ओखलढुङ्गाको पदमा स्पोर्टस् क्लब खेल्नेछन् । वैशाख ९ गते पुलिस र आयोजकबीचको विजेतासँग भारतको रानी लक्ष्मीबाई स्पोर्टस् एकेडेमीले खेल्नेछ । वैशाख १० गते एपीएफ र पदमाबीचको विजेतासँग सङ्कटा फुटबल क्लबले खेल्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल वैशाख १२ गते र दोस्रो सेमिफाइनल खेल वैशाख १३ गते हुनेछ । फाइनल खेल वैशाख १४ गते हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक भएको आयोजकले जनाएको छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
चन्द्रगढी महिला गोल्डकप भद्रपुरको मेची रङ्गशालामा सञ्चालन हुनेछ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्