देशभरिकै स्थानीय तहमा पठाइयो प्रमुख प्रशासकीय अधिकृत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २०

काठमाडौं । नयाँ सरकार गठनसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा धमाधम प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।

उपमहानगर, नगरपालिका र गाउँपालिका गरी रिक्त रहेका १४५ स्थानमा प्रमुख प्रशासकीय अधिकृतलाई खटाइएको छ । जसमा केही जिल्ला समन्वय समितिमा समन्वय अधिकारी पनि समावेश छन् ।

यसअघि चितवन, अर्घाखाँची, इलाम, जाजरकोट, सल्यान, रोल्पा, उदयपुर, महोत्तरी, धनुषा, रौतहट र नवलपरासीका जिल्ला समन्वय समितिमा कार्यालय प्रमुख (जिल्ला समन्वय अधिकारी) रिक्त थिए । ती ठाउँमा मन्त्रालयले जिल्ला समन्वय अधिकारी खटाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार उनले कार्यभार सम्हाल्दै गर्दा १४२ स्थानीय संरचनामा कार्यालय प्रमुख रिक्त थिए । मन्त्री रावलका अनुसार अब ७५३ वटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति भइसकेको छ ।

यो क्रममा १६ चैतमा ६३ जना जिल्ला समन्वय अधिकारी र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको थियो । जसमा उपसचिवहरू खटाइएका छन् । तुलसीपुर, घोराही, बुटवल र जनकपुर उपमहानगरमा भने सहसचिव पठाइएको छ । तुलसीपुरमा अतिरिक्त समूहमा रहेका टेकनारायण पौडेल, घोराहीमा चन्द्रप्रसाद भुसाल, बुटवलमा दीपक ज्ञवाली र जनकपुर उपमहानगरपालिकामा ज्ञान हरि घिमिरेलाई पठाएको छ ।

यस्तै १९ चैत (बिहीबार) ७८ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । जसमा अधिकृत स्तरका कर्मचारी छन् ।

मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त हुनुमा मूलतः तीन कारण रहेको निचोड निकालेको छ । जसमा कर्मचारी जान अनिच्छुक हुनु, जनप्रतिनिधिले आफू अनुकूलको प्रशासकीय अधिकृत खोज्नु र चुनावी सरकारले सरुवाका कामलाई थाँती राख्नु मुख्य कारण छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *