काठमाण्डौँ । काठमाडौँ जिल्ला अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले प्रहरीलाई उनीहरूमाथि थप अनुसन्धान अघि बढाउन हिरासत अनुमति दिएको हो ।
प्रहरीले चैत १४ गते उनीहरूलाई पक्राउ गरी आइतबार अदालतमा उपस्थित गराएको थियो । उनीहरू विरुद्ध भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा दमन गर्दै किशोरहरूमाथि घातक हतियार प्रयोग गरी गोली चलाउने आदेश दिएको आरोप छ।
गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले ओली र लेखकसहित तत्कालीन केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रहरीले ‘ज्यान सम्बन्धी कसुर’ अन्तर्गत अनुसन्धान अघि बढाएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीमा पठाइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापा ले प्रतिवेदन कार्यान्वयन प्रक्रियामा रहेको जानकारी दिएका छन् ।
यद्यपि आयोगले केन्द्रीय सुरक्षा समितिका सबै पदाधिकारीमाथि मुद्दा चलाउन सिफारिस गरे पनि मन्त्रिपरिषद्ले सुरक्षा निकायका अधिकारीहरूको हकमा छुट्टै समिति गठन गरेर थप अध्ययन गर्ने निर्णय गरेको छ ।
उक्त केन्द्रीय सुरक्षा समितिमा प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, गृह मन्त्रालयका सचिव र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहने व्यवस्था छ। जेनजी प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्