उदयपुरमा सडेको अवस्थामा एक महिलाको शव फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १२

काठमाडौँ । उदयपुरमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । उक्त शव उदयपुरगढी गाउँपालिका ५ भोगरेनी बस्ने धनबहादुर राईकी श्रीमती ४६ वर्षीया सोममाया तामाङको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतकका श्रीमान धन बहादुर राईले बुधबार शवको पहिचान गरेका हुन् । गएको फागुन २१ गतेदेखि बेपत्ता सोममायाको शव बुधबार दिउँसो उदयपुरगढी गाउँपालिका ५ स्थित मवासी जंगलमा फेला परेको हो ।

जंगलमा सडेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि अस्थायी प्रहरी पोस्ट नेपालटारबाट गएको प्रहरीले शव परिक्षणको लागि अस्पताल पुर्‍याएको थियो । सोममायाको शव पोस्टमार्टमको लागि अहिले जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।

परिवारका सदस्यहरूका अनुसार सोममाया गएको फागुन २१ गते आफुखुशी घरबाट हिँडेर बेपत्ता भएकी थिइन् । परिवारका सदस्यले खोजतलासको लागि यही चैत ३ गते प्रहरी चौकी उदयपुरगढीमा उनको फोटोसहितको हुलिया निवेदन दिएका थिए ।

उनको मृत्युको कारण खुलेको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *