सर्वसाधारणका लागि एक खर्ब बराबरको आईपीओ निष्काशन पुराना रेकर्ड ब्रेक

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण ६

बजारमा शत प्रतिशत लगानीकर्ता वृद्धि हुँदा प्राथमिक निष्काशनमा रेकर्ड ब्रेक भएको छ। गत आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा बढी रकम बराबरको सार्वजनिक निष्काशनमा रेकर्ड ब्रेक भएको हो। प्राथमिक बजारमा लगानीकर्ताको शत प्रतिशत वृद्धिले सार्वजनिक प्राथमिक निष्काशन मार्फत मात्रै कम्पनीहरूले झन्डै एक खर्ब रुपैयाँ पूँजी सङ्कलन गरेका छन्। जुन अहिलेसम्मकै प्राथमिक निष्काशन मार्फत पूँजी सङ्कलनको रेकर्ड हो। यस अघि २५ अर्ब रुपैयाँको हाराहारीमा मात्रै रकम सङ्कलन हुँदै आएकोमा गत वर्ष सङ्कलित रकम चार गुणाभन्दा बढीले बढेको छ।

गत वर्ष मात्रै कम्पनीहरूले प्राथमिक निष्काशन मार्फत ९३ अर्ब ४१ करोड ५९ लाख ५३ हजार ७०० रुपैयाँ सङ्कलन गरेका छन्। जसमा प्राथमिक शेयरबाट मात्रै १४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार ७०० रुपैयाँ सङ्कलन गरे। सामूहिक लगानी कोष मार्फत नौ अर्ब ४० करोड रुपैयाँ सङ्कलन हुँदा ६९ अर्ब ६० करोड रुपैयाँ ऋणपत्र (कर्पोरेट डिबेन्चर) मार्फत सङ्कलन भएको छ।

अघिल्लो वर्ष सार्वजनिक निष्काशन मार्फत सङ्कलित रकमको नयाँ रेकर्ड कायम भएको थियो। जसलाई गत वर्ष सङ्कलित रकमले पछि पार्दै नयाँ रेकर्ड कायम गरेको हो। अघिल्लो वर्ष प्राथमिक सार्वजनिक निष्काशन मार्फत कम्पनीहरूले २९ अर्ब २४ करोड ९९ लाख ४८ हजार चार हजार रुपैयाँ सङ्कलन गरेका थिए। जसमा प्राथमिक निष्काशन शेयर तर्फ तीन अर्ब ९९ करोड रुपैयाँ थियो भने ऋणपत्र तर्फको सङ्कलित रकम २३ अर्ब ४५ करोड रुपैयाँ थियो। उता सामूहिक लगानी कोष मार्फत एक अर्ब ८० करोड रुपैयाँ सङ्कलन भएको थियो।

प्राथमिक निष्काशनमा प्राथमिक शेयरको मात्रै हेर्ने हो भने पनि यो हालसम्मकै सर्वाधिक निष्काशनको रेकर्ड हो। यस अघि सबैभन्दा बढी प्राथमिक शेयर आर्थिक वर्ष २०७१/७२ मा निष्काशन भएका थिए। जुन यस अघिसम्मकै सर्वाधिक निष्काशनको रेकर्ड थियो। उक्त वर्ष ६ अर्ब ७० करोड रुपैयाँ बराबरका शेयर निष्काशन भएका थिए। तर, गत वर्षको निष्काशनले उक्त रेकर्डलाई पनि तोडेको छ। गत वर्ष प्राथमिक शेयर मात्रै १४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको भएको छ। जुन दोब्बर बराबर हो।

सर्वसाधारण लगानीकर्ताको उल्लेख्य प्रवेश र बढ्दो बजारका कारण पनि गत वर्ष शेयर पूँजी सङ्कलनमा रेकर्ड बनेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। गत वर्ष मात्रै हितग्राही (डिम्याट) खाता खोल्दै करिब २० लाख नयाँ लगानीकर्ता प्राथमिक बजारमा भित्रिएका छन्। गत वर्ष मात्रै २० लाख १२ हजार नौ सय ५२ नयाँ लगानीकर्ताले डिम्याट खाता खोलेको बोर्डले जनाएको छ। जसमा महिला भन्दा पुरुषको सङ्ख्या बढी छ। नयाँ खाता खोल्ने पुरुषको सङ्ख्या ११ लाख १५ हजार रहेको छ भने महिलाको सङ्ख्या आठ लाख ९६ हजार छ। प्राथमिक बजारमा लगानीकर्ताको उल्लेख्य प्रवेशले गर्दा पनि गत वर्ष सार्वजनिक निष्काशनमा कुनै पनि कम्पनीको शेयर बिक्री नहुने अवस्था आएन। लगानीकर्ताको शेयर बजार प्रतिको अत्याधिक आकर्षणको कारण समेत गत वर्ष कम्पनीहरू शेयर निष्काशनमा बढी नै जोड बल गरेका थिए। बोर्डले लगानीकर्ताको आकर्षणलाई नै मध्य नजर गर्दै बढी भन्दा बढी पूँजी सङ्कलनको स्वीकृति दिँदा निष्काशनको रेकर्ड बनेको बोर्डको भनाई छ।

अघिल्लो वर्ष र गत वर्ष नै मुलुकमा कोभिडको असर देखिएको थियो। दुवै वर्ष अर्थतन्त्रमा सङ्कुचन देखिएको थियो। तर, कोभिडकाबीचमा पनि दुवै वर्ष शेयर बजारमा भने अत्यधिक आकर्षण देखियो। कोभिडको समयमा अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा सर्वसाधारणको आकर्षण शेयर बजार देखियो। चारैतिरका लगानीकर्ता शेयर बजारमा आउँदा शेयर निष्काशनदेखि कारोबारसम्म नयाँ रेकर्ड कायम भएको बोर्डको जिकिर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *