काठमाण्डौँ । ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले आगामी फिफा अन्तर्राष्ट्रिय विन्डोका लागि टोलीको घोषणा गरेका छन् । मार्चको अन्त्यमा फ्रान्स र क्रोएसिया विरुद्ध हुने तय भएका मैत्रीपूर्ण खेलका लागि सार्वजनिक गरिएको टोलीमा ब्राजिलका कीर्तिमानी गोलकर्ता नेयमार भने अटाएका छैनन् ।
सन् २०२३ को अक्टोबरमा उरुग्वे विरुद्धको खेलमा घुँडाको गम्भीर चोट भोगेपछि नेयमारले राष्ट्रिय टोलीबाट खेलेका छैनन् । हाल साओ पाउलोको क्लब सान्तोसमा आबद्ध भएका ३४ वर्षीय नेयमारले लय समात्न खोजे पनि मांसपेशीको समस्या र फिटनेशको अभावले उनलाई पिरोलिरहेको छ ।
प्रशिक्षक एन्सेलोटीले नेयमारको प्राविधिक क्षमतामा कुनै शंका नरहे पनि शारीरिक रूपमा १०० प्रतिशत फिट रहेका खेलाडीलाई मात्र प्राथमिकता दिने स्पष्ट पारेका छन् ।
प्रशिक्षक एन्सेलोटीले नेयमारको अवस्था बुझ्न सान्तोस र मिरासोल बीचको खेल हेर्न रंगशालामै पुगेका थिए, तर नेयमारले उक्त खेल फिट नभएका कारण खेल्न सकेनन्। पछि कोरिन्थियन्स विरुद्धको डर्बी खेलमा उनी मैदान उत्रिए तापनि उनको प्रदर्शन आशातीत रहन सकेन । एन्सेलोटीले स्पष्ट रूपमा पूर्ण रूपमा फिट रहेका खेलाडीलाई मात्र प्राथमिकता दिने रणनीति लिएका छन् ।
नेयमार टोलीमा नपर्दा एन्सेलोटीले युवा र आक्रामक खेलाडीहरूलाई विश्वास गरेका छन् । टोलीमा रियल म्याड्रिडका भिनिसियस जुनियर, बार्सिलोनाका राफिन्हा, आर्सनलका गेब्रियल मार्टिनेली र चेल्सीका जोआओ पेड्रो जस्ता प्रतिभाहरू समेटिएका छन् । त्यस्तै, म्यानचेस्टर युनाइटेडका म्याथियस कुन्हा र लियोनमा रहेका युवा स्टार एन्ड्रिकले पनि टोलीमा स्थान बनाएका छन् ।
अनुभवी खेलाडीका रूपमा म्यानचेस्टर युनाइटेडका क्यासेमिरो र पीएसजीका मार्किन्होसले टोलीको नेतृत्व गर्नेछन् । यदि नेयमारले आगामी दुई महिनामा आफ्नो पुरानो लय र शारीरिक तन्दुरुस्ती प्रमाणित गर्न सकेनन् भने, २०२६ को विश्वकपमा ब्राजिलियन जर्सीमा उनलाई देख्न नपाइने सम्भावना प्रबल देखिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्