अलराउन्डर दीपेन्द्र इस्लामाबाद युनाइटेडबाट पीएसएल खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २९

काठमाण्डौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।

उनलाई इस्लामाबाद युनाइटेडले ६० लाख पाकिस्तानी रुपैयाँमा अनुबन्ध गरेको हो । पीएसएल ड्राफ्टको पहिलो चरणमा बिक्री हुन नसकेका दीपेन्द्रलाई इस्लामाबादले सप्लिमेन्टरी÷रिप्लेसमेन्ट कोटामार्फत टोलीमा समेटेको जनाएको छ ।

फ्रेन्चाइजले बिहीबार उनको अनुबन्धबारे औपचारिक घोषणा गरेको हो । टी–२० ढाँचामा आक्रामक मिडल अर्डर ब्याटिङ र अफ–स्पिन बलिङ गर्ने क्षमताका कारण दीपेन्द्रलाई टोलीले उपयोगी अलराउन्डरका रूपमा लिएको बताइएको छ । इस्लामाबाद युनाइटेड पीएसएलको सफल टोलीमध्ये एक हो र यसअघि दुई पटक उपाधि जितिसकेको छ ।

दीपेन्द्रको सहभागितासँगै पीएसएल खेल्ने उनी दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि सन्दीप लामिछानेले उक्त लिग खेलेका थिए । पछिल्लो समय टी–२० अन्तर्राष्ट्रियमा राम्रो लयमा रहेका दीपेन्द्रले एसियाली खेलकुदमा कीर्तिमानी प्रदर्शन गरेका थिए । पीएसएलको नयाँ सिजन चाँडै सुरु हुँदैछ । प्रतियोगिताका लागि दीपेन्द्र निर्धारित समयमै पाकिस्तान प्रस्थान गर्ने तयारीमा रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *