लिखुपिकेमा कल्पना राईको प्रतिबद्धता: क्षेत्रका समस्या सदनसम्म पुर्‍याउने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २५

सोलुखुम्बु — आसन्न फागुन २१ गते हुने संसदीय निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले सोलुखुम्बुले लिखुपिके गाउँपालिकामा चुनावी अभियानलाई तीव्र बनाएको छ।

यसैक्रममा आज गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा मतदाता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा उम्मेदवार–मतदाता भेटघाट, कार्यकर्तासँग छलफल, घरदैलो अभियान तथा अन्तर्क्रिया कार्यक्रम समेटिएको नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिनुभयो।

स्थानीय कमिटीले तयार पारेको कार्यक्रम तालिका अनुसार कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ। कार्यक्रममा मतदातालाई सम्बोधन गर्दै नेकपा एमालेकी उम्मेदवार कल्पना राईले लिखुपिके क्षेत्रका समस्या र आवश्यकताहरूलाई सदनमा पुर्‍याई कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले विकास र स्थायित्वका लागि नेकपा एमालेलाई समर्थन गर्न मतदातासमक्ष आग्रह गर्नुभयो। अध्यक्ष बास्तोलाको नेतृत्वमा खटिएको एमाले टोली हाल लिखुपिके गाउँपालिकामा सक्रिय रूपमा चुनावी प्रचारमा जुटिरहेको छ। पार्टीका अनुसार भोलि गाउँपालिकाका बाँकी वडाहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *