ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा एक महिनाको अवधिमा चार जनाको हत्या भएपछि स्थानीय बासिन्दाले गम्भीर असुरक्षा महसुस गरेका छन् । लगातार भएका हत्या, लुटपाट र चोरीका घटनापछि गाउँलेहरू थातथलो छोड्न बाध्य भएका छन् भने सुरक्षाको प्रत्याभूति र पीडितलाई न्याय नपाएसम्म आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन् ।
स्थानीय समाजसेवी सन्तोषकाजी कार्कीका अनुसार असुरक्षाका कारण केही बासिन्दा काठमाडौं र धरानतिर बसाइँ सर्न थालेका छन् भने गाउँमा बाँकी रहेकाहरू दुई–तीन घर एकै ठाउँमा जम्मा भएर आलोपालो सुत्ने गरेका छन् । किसानका गोठबाट खसी–बोका चोरी हुने क्रम पनि बढेको उनले बताए ।
एक साताअघि भदौरेको बोहोरे टोलमा ८१ वर्षीया चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको अज्ञात समूहद्वारा विभत्स हत्या गरिएको थियो। यसअघि सोही गाउँमा ६० वर्षीय सोभितमान थापामगर र उनकी श्रीमतीको हत्या भएको थियो, जसमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् ।
लगातारका घटनापछि बसेको सर्वपक्षीय भेलाले शान्ति सुरक्षाको ग्यारेन्टी, पीडित परिवारलाई न्याय र अपराधीलाई कडा कारबाहीको माग गर्दै २५ सदस्यीय संघर्ष समिति गठन गरेको छ। भेलाले जघन्य अपराधमा संलग्नलाई हदैसम्मको सजाय तथा दुर्लभ र क्रूर अपराधमा मृत्युदण्डको व्यवस्था गर्न कानुन संशोधनको मागसमेत अघि सारेको छ।
राज्यले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित नगरेसम्म तथा आफ्ना माग सम्बोधन नभएसम्म निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको संघर्ष समिति संयोजक कार्कीले जानकारी दिए । साथै व्यक्तिगत भेटघाटबाहेक राजनीतिक सभा, जुलुस र भेलामा सहभागी नहुने निर्णय पनि गरिएको छ।
उक्त सर्वपक्षीय भेलामा अधिकांश राजनीतिक दल ‘नो भोट’ अभियानमा सहमत भए पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भने यसप्रति फरक मत राखेको छ।
भेलाले तत्काल सुरक्षा व्यवस्था मजबुत बनाउन अस्थायी सुरक्षा क्याम्प स्थापना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आवश्यक परे नेपाली सेनाको संयुक्त टोली परिचालन गर्न माग गरेको छ। दीर्घकालीन रूपमा प्रहरी चौकी स्तरोन्नति, स्थायी प्रहरी पोष्ट र चेकपोष्ट स्थापना गर्नुपर्ने मागसमेत अघि सारिएको छ।
वडा कार्यालयले पनि जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्र सरकारसँग हत्यारालाई अविलम्ब पक्राउ गरी कानुनअनुसार कारबाही गर्न तथा सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान गर्न माग गरेको छ । जिल्लास्थित राजनीतिक दलहरूले समेत घटनाले चुनाव प्रभावित हुन सक्ने भन्दै सुरक्षा व्यवस्था चुस्त बनाउन प्रशासनको ध्यानाकर्षण गराएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्