काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जाका ५६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।
जिल्लामा रहेका कुल १९९ मतदान स्थलमध्ये ७१ वटा संवेदनशील र ७२ वटा सामान्य सूचीमा परेका छन् ।
जिल्ला सुरक्षा समितिले जिल्लाका सबै मतदान स्थलको अवस्था मूल्यांकन गरी सुरक्षाको अवस्था, भौगोलिक बनावट र विगतका गतिविधिलाई आधार मानेर सबै मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी केन्द्रमा सिफारिस गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिएका छन् ।
प्रजिअ अर्यालका अनुसार सडक र यातायातको पहुँच, भौगोलिक अवस्था, सूचना तथा सञ्चारको पहुँच, अघिल्ला निर्वाचनमा देखिएका गतिविधि र समग्र सुरक्षा अवस्थालाई मुख्य आधार बनाएर संवेदनशीलता निर्धारण गरिएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा रहेका राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले प्रतिबद्धता जनाएको पनि प्रशासनले जनाएको छ ।
मतदानस्थलको अवस्थाबारे यथार्थ जानकारी लिन जिल्ला सुरक्षा समिति, निर्वाचन अनुगमन समिति र निर्वाचन अधिकृतको संयुक्त टोलीले स्थलगत अध्ययन तथा अवलोकन गरिरहेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १९९ मतदान स्थलमा यसपटक ३ सय २२ मतदान केन्द्र तोकिएका छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्