बागलुङमा सुन्तलाखेती फस्टाउँदै, उत्पादन करिब २७ करोड पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १७

चालु आर्थिक वर्षमा बागलुङ जिल्लामा करिब २६ करोड ९० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। किसानको आकर्षण बढ्दै जानु र रोग–कीराको प्रकोप कम हुनुका कारण उत्पादन अघिल्लो वर्षको तुलनामा ४४ लाख रुपैयाँले वृद्धि भएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ।

ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा चार हजार १६९ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। किसानले न्यूनतम प्रतिकिलो ६५ रुपैयाँमा सुन्तला बिक्री गरेका छन्। पछिल्लो समय कोदो, मकै र गहुँ लगाइने बारीमा समेत सुन्तलाका बोट रोप्न थालिएको छ।

बसाइँसराइले रित्तिँदै गएका गाउँमा पनि सुन्तलाखेती फैलँदै गएको कृषि ज्ञान केन्द्र प्रमुख कुमार पुन मगरले बताए। कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले बाँझो जमिनसमेत उपयोगमा आएको उनको भनाइ छ।

काठेखोला, बागलुङ नगरपालिका र जैमिनी क्षेत्रका विभिन्न ठाउँमा सुन्तला उत्पादन बढी हुने गरेको छ। किसानका अनुसार समयमै वर्षा र अनुकूल मौसमले यस वर्ष उत्पादन राम्रो भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *