यस वर्ष लमजुङ जिल्लामा अलैँची बिक्रीबाट रु २४ करोड ३० लाख बराबरको आम्दानी भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार जिल्लामा १३५ मेट्रिकटन अलैँची बिक्री भएको हो।
अलैँचीको मूल्य यस वर्ष प्रतिकिलो रु १,८००–२,५०० मा कारोबार भएको छ। उत्पादन घटे पनि मूल्य वृद्धि भएकाले किसानले बढी आम्दानी गरेका हुन्। छिमेकी भारतमा पनि अलैँची उत्पादन घटेकाले माग उच्च भएको कृषि अधिकृत मिजारले बताए।
लमजुङमा ७५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती भइरहेको छ। सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकामा उत्पादन भएको र किसानले राम्रो आम्दानी पाएको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष सोमबहादुर तामाङले बताए।
अलैँचीखेतीले स्थानीय किसानको आर्थिक अवस्था सुधार गरेको छ। करिब तीन हजार किसान यस व्यवसायमा संलग्न छन्। विदेश फर्किएका युवाहरू समेत अलैँचीखेतीमा सक्रिय छन् र वार्षिक रु ५ लाखदेखि १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्