काठमाण्डौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राईले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
राईले आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रमा पैसा बाँडेको आरोपमा उनको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेबाट धनकुटामा उम्मेदवार रहेका पूर्वमन्त्री राईले मतदातालाई प्रभावित गर्ने गरी धनकुटाको सहिदभूमि गाउँपालिका( तीर्थकुमारी राईलाई नगदसहित सम्मान गरेको आरोप लगाइएको छ ।
राईले शुक्रबार बासुरी बाधक तिर्थकुमारीलाई गाउँमै पुगेर दोसल्ला ओढाएर नगदसहित सम्मान गरेका थिए । सो अवसरमा एमाले नेता तथा सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले पनि तीर्थकुमारीलाई प्रोत्साहन स्वरूप पाँच हजार रुपैयाँ नगद प्रदान गरेका थिए ।
पूर्वमन्त्री राईले तीर्थकुमारीको बाँसुरी बजाउने कलाको प्रशंसा गर्दै गाउँमा लुकेको प्रतिभालाई प्रोत्साहन गर्न सम्मान गरेको बताएका थिए । राईको साथमा एमाले नेता तथा कोशी प्रदेशका पूर्व राज्यमन्त्री एवं प्रदेशसभा सदस्य निरन राई र सहिदभूमि गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई पनि पुगेका थिए ।
राई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार पनि बनेकाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका जिल्ला सभापति दिनेश राईले आचारसंहिता विपरीत जनतालाई प्रलोभनमा पारेको भन्दै उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन् ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्