अपारदर्शी कारोबार रोक्न नगद सीमा कडाइ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ११

काठमाण्डौ । अपारदर्शी आर्थिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले नगदमा कारोबार गर्न पाइने अधिकतम सीमा घटाइएको अर्थमन्त्री रामेश्वर खनालले बताएका छन्।

राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवको अवसरमा शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले केही क्षेत्रमा अझै पनि पारदर्शिता नदेखिएको उल्लेख गरे। उनले गलत तरिकाले आर्जन गरिएको कालो धनलाई सेतो बनाउने माध्यमका रूपमा केही निकायहरू प्रयोग भइरहेकाले नगद कारोबारको सीमा घटाउनुपरेको स्पष्ट पारे।

उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले अन्य क्षेत्रको तुलनामा अपेक्षाकृत राम्रो काम गरिरहेका छन्, तर अझै सतर्कता अपनाउनुपर्ने आवश्यकता छ। उनले भौतिक मुद्राबाट डिजिटल मुद्रातर्फ र परम्परागत बैंकिङ पहुँचबाट भर्चुअल बैंकिङतर्फ क्रमशः रूपान्तरण हुनुपर्नेमा जोड दिए।

अर्थमन्त्री खनालले धितोमा आधारित कर्जाको सट्टा उद्यमशीलता, सीप, क्षमता तथा आय आर्जन गर्ने सम्भावनालाई आधार मानेर लगानी प्रवाह गर्ने नयाँ प्रणालीबारे अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग छलफल गरिरहेको जानकारी दिए।

हाल वित्तीय क्षेत्र पूर्ण रूपमा कमजोर अवस्थामा नरहे पनि समय–समयमा विभिन्न कारणले समस्या देखिनु स्वाभाविक भएको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *