काठमाण्डौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको सुरुवाती दुई खेलमा हार बेहोरेपछि नेपाली महिला क्रिकेट टोलीलाई अब अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न बाँकी दुवै खेल जित्नुपर्ने आवश्यकता छ ।
पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएपछि दोस्रो खेलमा नेदरल्यान्ड्ससँग जितको निकै नजिक पुगेर चुकेको नेपाली टिमले अब तेस्रो खेलमा शनिबार जिम्बाबेसँग खेल्दैछ ।
नेदरल्यान्ड्सविरुद्धको खेल अन्तिम बलमा पुगेर गुमाउँदा क्रिजमा रहेका दुई अनुभवी खेलाडी रुबिना क्षेत्री र सीता रानामगर भावुक बनेका थिए ।
त्यहीँबाट पनि पुष्टि हुन्छ त्यो खेल कति महत्वपूर्ण हुन्छ भनेर, किनभने नेपालले खेल मात्र २ रनले गुमाएको थिएन, महत्वपूर्ण २ अंक पनि गुमाएको थियो ।
अब जिम्बाबेविरुद्ध भने कुनै गल्ती नगरी नेपालले २ अंक जोड्ने लक्ष्य राख्नेछ । वरियतामा नेपालभन्दा माथि रहेपनि जिम्बाबेले यस प्रतियोगितामा लगातार तीन खेल हारेर बाहिरिसकेको छ । अन्तिम खेलमा नेपालसँग खेल्दैछ ।
नेपाल रहेको समूह ‘बी’ बाट नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेको छ भने थाइल्यान्डको सम्भावना पनि बलियो देखिइसकेको छ ।
शनिबार विहान हुने थाइल्यान्ड र स्कटल्यान्डबीचको खेलपछि समिकरण अझ छर्लङ्ग हुनेछ । थाइल्यान्डले स्कटल्यान्डलाई हराएको अवस्थामा थाइल्यान्ड पनि अगाडि बढ्नेछ । यस्तो अवस्थामा नेपालले जिम्बाबेलाई हराएर स्कटल्यान्डलाई जुनसुकै अन्तरले हराए पुग्नेछ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्