एमबाप्पेको दुई गोलले रियल मड्रिड अन्तिम १६ मा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३

एजेन्सी – किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३–२ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ।

यस खेलमा दुई गोल गरेका एमबाप्पेले सन् २०२५ मा रियलका लागि कुल ५८ गोल पूरा गरेका छन्। अब उनी क्रिस्टियानो रोनाल्डोले सन् २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न केवल एक गोल टाढा छन्।

खेलको ४२औँ मिनेटमा कर्नरका क्रममा मार्कोस मोरेनोको हातमा बल लागेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एमबाप्पेले रियललाई अग्रता दिलाए। त्यसको चार मिनेटपछि एमबाप्पेको प्रहार डिफेन्डर म्यानुअल फरान्डोमा लागेर गोलमा परिणत हुँदा पहिलो हाफमै रियल २–० ले अघि रह्यो।

दोस्रो हाफको ८०औँ मिनेटमा नाहुएल अरोयोले गोल गर्दै तालाभेरालाई खेलमा फर्काउने संकेत दिए। तर ८८औँ मिनेटमा एमबाप्पेले टाढाबाट हानेको प्रहार गोलकिपरको हातबाट फुत्किँदै जालमा पुगेपछि रियलले फेरि स्पष्ट अग्रता बनायो। इन्जुरी समयमा गोन्जालो दी रेन्जोले तालाभेराका लागि अर्को गोल गरे पनि हार टार्न सकेनन्।

मुख्य प्रशिक्षक जाबी अलोन्सोले ला लिगामा अलाभेसविरुद्धको खेलबाट १० खेलाडी परिवर्तन गरेका थिए। यस जितसँगै पछिल्ला केही हप्तादेखि दबाबमा रहेको रियलले पाँच खेलमा तेस्रो जित हासिल गरेको छ।

कोपा डेल रेमा अगाडि बढ्नुका साथै रियल मड्रिड ला लिगामा दोस्रो स्थानमा रहेको छ भने च्याम्पियन्स लिगमा पनि उसको प्रदर्शन सन्तोषजनक रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *