आज एन्फा गेट अगाडि ए डिभिजन क्लबको धर्ना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ४

काठमाण्डौँ । ए डिभिजन फुटबल क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय अगाडि धर्ना दिएका छन् ।

एन्फा र क्लबबीच भएको सहमति पूरा गर्नुपर्ने, लिगको एक वर्षको साइकल पूरा गर्नुपर्ने एएफसी क्लब लाइसेन्स लागू गर्नुपर्ने लगायत माग राखेर ए डिभिजनका क्लबका प्रतिनिधिहरुले एन्फा गेट अगाडि धर्ना दिएका हुन् ।

एक वर्षभित्र लिगको साइकल पूरा हुनुपर्ने हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका छन् ।

एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ । तर क्लबहरु भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन् ।

उनीहरुको प्रदर्शनलाई लक्षित गरी गेट अगाडि पुलिसहरु तैनाथ गरिएको छ ।

क्लबहरूले लिगका सबै प्रतियोगिता समयमै गर्न दबाब दिन, ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्‍चालन गर्न माग गरिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

यसअघि नेपाल फुटबल खेलाडी संघले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स गेटमा धर्ना दिएको थियो । संघले पनि ए डिभिजन लिग तुरुन्त सुरु गर्न माग गर्दै घरेलु फुटबल नियमित गर्नुपर्ने आवाज उठाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *