काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी छिन् ।शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान अधिवेशनमा सहभागी हुन बञ्चित भएपछि उनले पत्रमार्फत शुभकामना सन्देश पठाएकी थिइन् । उनले आज भने न्युज एजेन्सी नेपालमार्फत एक भिडिओ सन्देश जारी गर्दै एमाले र आफ्नो उद्देश्य एउटै भएकाले सधैँ सँगै रहने बताएकी छिन् ।
‘पार्टीले मलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएर पठाएको हुनाले राष्ट्रिय जिम्मेवारीमा रहेँ । त्यतिबेला हाम्रो भेटघाटहरू कम भएको हुनसक्छ । तथापि हाम्रो उद्देश्य एउटै हो । हामी सधैँ सँगै नै छौं । यहाँहरूलाई मैले प्रत्यक्ष भेटघाट गर्न नपाए पनि मैले भेटेसरह नै मानेको छु,’ भण्डारीले भनेकी छिन् ।
विधान महाधिवेशनका प्रतिनिधिहरूलाई भण्डारीले भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्न आग्रह गरेकी छिन् ।
‘मैले यहाँहरूलाई हिजोमात्रै पत्रमार्फत आफ्ना विचार राखेको छु । यहाँहरूले अध्ययन गर्नुभएकै होला । यहाँहरूको उपयुक्त सल्लाह, सुझाव पनि अपेक्षा गरेको छु,’ भण्डारीले थप भनेकी छिन्, ‘नेकपा एमालेको काँधमा देशको ठूलो जिम्मेवारी छ । त्यो पूरा गर्न यहाँहरू भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्नुस् । म पनि सधैँ यहाँहरूकै साथमा हुनेछु ।’
नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो । बिहीबार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रिय कमिटीको अधिकारक्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा विधान अधिवेसनमा एजेण्डा पनि बन्न नसक्ने बताएको थियो ।
यस्तो छ भण्डारीको सन्देश :
नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा उपत्यकामा उपस्थित हुनुभएका देशभरका सम्पूर्ण महाधिवेशन प्रतिनिधि कमरेडहरूलाई उपत्यकामा स्वागत गर्न पाउँदा खुसी लागेको छ । यहाँहरूको काठमाडौं बसाइ सरल र सुखद रहोस् । जुन उद्देश्यले यहाँहरू काठमाडौं आउनुभएको छ, यहाँहरूको कार्य सफल रहोस् । म पनि लामो समयसम्म यहाँहरूसँग सँगसँगै रहेँ । तर, बीचमा पार्टीले मलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएर पठाएको हुनाले राष्ट्रिय जिम्मेवारीमा रहेँ । त्यतिबेला हाम्रो भेटघाटहरू कम भएको हुनसक्छ । तथापि हाम्रो उद्देश्य एउटै हो । हामी सधैँ सँगै नै छौं । यहाँहरूलाई मैले प्रत्यक्ष भेटघाट गर्न नपाए पनि मैले भेटेसरह नै मानेको छु ।
मैले यहाँहरूलाई हिजोमात्रै पत्रमार्फत आफ्ना विचार राखेको छु । यहाँहरूले अध्ययन गर्नुभएकै होला । यहाँहरूको उपयुक्त सल्लाह, सुझाव पनि अपेक्षा गरेको छु,’ भण्डारीले थप भनेकी छिन्, ‘नेकपा एमालेको काँधमा देशको ठूलो जिम्मेवारी छ । त्यो पूरा गर्न यहाँहरू भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्नुस् । म पनि सधैँ यहाँहरूकै साथमा हुनेछु । धन्यवाद ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्