अदालतको फैसला कुरौँ, सडकमा उत्रिएर रुवावासी नगरौँ: महामन्त्री शर्मा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ७

काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तालाई आफ्ना सभापति रवि लामिछानेविरुद्ध जारी अनुसन्धानलाई सघाउन आग्रह गरेका छन्। सहकारी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका आफ्ना सभापति रवि पक्राउ परेयता रास्वपाले पोखरामा दैनिक विरोध प्रदर्शन गरिरहेको छ। राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछाेलाई पक्राउ गरिएको दाबी रास्वपाले गरिरहेको छ।

यसैबीच प्रतिनिधि सभा सदस्यसमेत रहेका कांग्रेस महामन्त्री शर्माले रवि पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भन्नु संसदीय समिति र संसद्‌कै अपमान भएको टिप्पणी गरेका छन्। ‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ- ‘प्रचलित कानुनबमोजिम कारबाही गर्नू’, बुधबार बिहान शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर प्रक्रिया सुरु भएपछि ‘राजनीतिक प्रतिशोध’ भन्नु संसदीय समिति र संसद्‌कै अपमान होइन र?’

शर्माले रास्वपा नेता-कार्यकर्तालाई सभापति जेल जाने भए भनेर रुवावासी नगर्न र सडकमा उत्रिएर जगहँसाइ नगर्न अनुरोध पनि गरेका छन्। ‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौँ’, शर्माले लेखेका छन्, ‘अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ। सडक विलापको जगहँसाइ नगरौँ।’

‘अन्धभक्तहरूले न पार्टी सुधार्न सक्छन् न देश बनाउन’ भन्ने कसैको उक्तिबाट लेख्न सुरु गरेका शर्माले रास्वपाले सडक प्रदर्शनमार्फत न्यायालय प्रभावित पार्ने प्रयास गरी विधिमा समेत ठगी गर्न खोजेको आरोप लगाएका छन्।

‘प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति कि विधिउपर समेतको ठगी’, शर्माले लेखेका छन्, ‘स्पष्ट हौँ- दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *