ठगिने पनि नेपाली, ठग्ने पनि नेपाली: श्रममन्त्री अर्याल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १८

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन्। सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औं स्थापना दिवस तथा ३० औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भिजिट भिसा र व्यक्तिगत भिसामा हुने ठगी रोक्नुपर्ने बताएका हुन्।

अर्यालले यस्तो कार्यमा म्यानपावर व्यवसायीकै संलग्नता भएको जानकारी मन्त्रालयलाई रहेको समेत बताए। ‘हामीलाई थाहा छ, व्यवसायी नै यस्ता खालका ठगीमा संलग्न छन्’, उनले चेतावनी दिँदै भने, ‘त्यसैले एकपटक म सबैलाई यस्ता गतिविधि रोक्न आग्रह गर्छु । मेरो नेतृत्वले निर्मम भएर यसमा काम गर्न नपरोस्।’

सबै नेपालीले सम्मानजनक तरिकाबाट व्यवसाय गर्न र बाँच्नका लागि सहयोगीको भूमिका खेल्ने चाहना आफूमा भएको भन्दै म्यानपावर व्यवसायीसँग दुस्मनी कमाउने कुनै रहर नभएको अर्यालले बताए । भिजिट भिसा र व्यक्तिगत भिसाका नाममा नेपालीद्वारा नै नेपाली ठगिएको मन्त्री अर्यालले बताए।

‘ठगिने पनि नेपाली ठग्ने पनि नेपाली’, उनले भने, ‘तपाईंहरू आफ्नै छातीमा हात राखेर जिम्मेवार भएर सोचिदिनुस् । कसैलाई पक्राउ गर्ने मेरो चाहना छैन। गल्ती गर्नेलाई कानुनले नै कारबाही गर्छ। म कसैको ढोका ढकढकाउन जानु पर्दैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *