ओछ्यानसहित बेपत्ता झा दम्पतीको अवस्था अज्ञात, घटना जटिल बन्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र ४

जलेश्वर – घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका–५ का एक झा दम्पतीको अवस्था अज्ञात छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी सुतिरहेकै अवस्थामा फागुन १० गते राति घरैबाट अज्ञात समूहले ओछ्यानसहित बेपत्ता पारेको २२ दिन भैसकेको छ । वृद्ध दम्पती नभेटेपछि घटना झन् झन् जटिल बन्दै गइरहेको छ ।

उनको घर र चौकसमा रगतका छिट्टा देखिएकाले घटना रहस्यमय भएको भन्दै प्रहरीले फागुन ११ गते मङ्गलबार बिहानैदेखि वृद्ध दम्पतीको व्यापकरुपमा खोजतलास गरिरहेको तर आज २२ औँ दिन बितिरहँदा वृद्ध दम्पतीको खोजीमा जिल्ला प्रहरी, प्रदेश प्रहरी र विभिन्न गोप्य सुराकी लगाई सकिएको अवस्थामा पनि उनीहरूको कुनै अत्तोपत्तो लागेको छैन ।

चौबीस घण्टा प्रहरी विभिन्न समूहले झा दम्पतीको घरको चौकीदारी गरिरहेका छन् । प्रहर नभनी उनको खोजीका लागि प्रहरी भौँतारिरहेका छन् । मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरूको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाहरूले आँकलन गरिरहेका छन् । प्रहरीले उनीहरूको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म करीब चार दर्जन व्यक्तिलाई ल्याइसकेको र आवश्यक सोधपुछ गरिसक्दा पनि वृद्ध दम्पतीबारे कुनै सुराकी नलागेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *