कैलाश्वरी युवा क्लबको भवन उद्धघाटनसँगै भलिबल प्रतियोगिता आयोजना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–८ केरुङको आङपाङमा कैलाश्वरी युवा क्लबको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ ।

प्रतियोगितामा २९ टिमको सहभागिता रहेका छन् । जसमा २६ बाहिरी टोली र ३ आयोजक टोली रहेका कैलाश्वरी युवा क्लबका अध्यक्ष खुस बहादुर मगरले जानकारी दिए ।

उनका अनुसार सोही अवसरमा बिहीबार क्लबले माघे सक्रान्ति पनि भव्य रूपमा मनाएको छ । सोही कार्यक्रममा ८४ वर्षीया ज्येष्ठ नागरिक, कैलाश्वरी युवा क्लब भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने दाता तथा विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । सोही अवसरमा तिर हान्ने खेल प्रतियोगिता आयोजना गरिनुको साथै हुनुका साथै कैलाश्वरी युवा क्लबको नवनिर्मित भवनको औपचारिक उद्घाटनसमेत गरिएको छ ।

क्लब भवन निर्माणका लागि कुल २७ लाख रुपैयाँ लागत लागेको जनाइएको छ । उक्त लागत मध्ये सोलुदुधकुण्ड नगरपालिकाबाट १८ लाख रुपैयाँ, वडा कार्यालयबाट ३ लाख रुपैयाँ तथा स्थानीय जनश्रमदानबाट ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

उक्त कार्यक्रम बिहीबार सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि शेर्पाले माघे सक्रान्तिको शुभकामना व्यक्त गर्दै नगरपालिकाभित्र रहेका सम्पूर्ण समुदायका भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा नगरपालिका सधैं साथमा रहने बताए ।

साथै आगामी दिनमा आवश्यक पर्ने सबै प्रकारका सहयोगका लागि नगरपालिका समुदायसँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा नगर उपप्रमुख गान्धी माया तामाङले पर्वमार्फत समुदायको सास्कृतिक पहिचान जगेर्ना गर्नुका साथै युवा पुस्तामा खेलकुद र सामाजिक एकताको भावना प्रवद्र्धन गर्ने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *